
पाल्पा । पीपी प्रसाई फाउण्डेशनले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट शिक्षक पुरस्कारबाट पाल्पाका गोपालप्रसाद बस्याल पुरस्कृत हुनुभएको छ ।
उहाँले पीपी प्रसाई एक्सीलेन्स् इन एजुकेशन अवार्ड–२०२३ र टुरिज्म लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०८० मा राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत हुनुभएको हो ।लुम्बिनी प्रदेशबाट मोहन कन्या माध्यमिक विद्यालय तानसेन पाल्पामा कार्यरत शिक्षक बस्याल नगद ५० हजार रकम सहित सम्मानित हुनुभएको हो ।
यसका साथै मोहन कन्या माध्यमिक विद्यालयले १० हजार बराबरको शैक्षिक सामग्री समेत प्राप्त गरेको गरेको छ । शिक्षण तथा प्रशिक्षण कार्यमा लामो अनुभव संगाल्नु भएका बस्याल शिक्षकका साथै लेखक, पत्रकार, साहित्यकार र विश्लेषकका रुपमा परिचित हुनुहुन्छ । उहाँका पाठ्य पुस्तक, सन्दर्भ सामग्री, साहित्यिक कृतिहरु, शिक्षा र समसामयिक विषयवस्तुमा आधारित लेखहरु नेपाली तथा अंग्रेजी दुवै भाषामा प्रकाशित रहेका छन् ।
नेकोन एअरको सेप्टेम्बर ५, १९९९ मा भएको जहाज दुर्घटनामा दिवंगत पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्झनामा २०६७ सालमा स्थापित उत्कृष्ट शिक्षक पुरस्कार नेपालको सार्वजनिक शिक्षा र पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेका व्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने गरेको फाउण्डेशनका अध्यक्ष शिखर प्रर्साइँले जानकारी दिनुभयो ।