पाल्पा । सडक पूर्वाधार विकास कार्यालय पाल्पाले गएको आर्थिक वर्षमा पाल्पामा ६ वटा सडक खण्डमा पर्ने खोलामा पुलको निर्माण कार्य सम्पन्न गरेको जनाएको छ ।
विभिन्न मितिमा टेन्डर भएका पुलको निर्माण कार्य सम्पन्न भएको हो । आर्थिक वर्ष २०७९/८० मा करिब १३ करोड ९१ लाख ५९ हजार १ सय ५४ रुपैयाँ लागतमा पुल निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो ।
सम्पन्न भएका पुलहरु मध्येमानिर्माणको जिम्मा पाएका काष्ठमाण्डप तिरुपति जेभी निर्माण कम्पनीले रुप्से चिदीपानी बदवारी पक्की पुलको काम सकेको हो । यस्तै प्रदीप कन्स्ट्रक्सन निर्माण कम्पनीको जिम्मेवारीमा रहेको झडेवा, रहवास, बहादुरपुर ज्यामिरे सडक खण्डको आरुड्डखोला पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
यस्तै मसानेघाट सडक खण्डकोपुल रामपुर पाल्पाको इलाइट कन्स्ट्रक्सन कम्पनी लिमिटेडले काम सम्पन्न गरेको छ । श्री प्रदिप थापा जेभीले जिम्मा पाएको धागो कारखाना चरड्डे झुम्सा सडक खण्डमा ३ वटा कल्भर्ट सहित पुल पालन्दर खोलामा पुल बनाउने काम सकिएको जानकारी कार्यालय प्रमुख गुप्ताले दिनुभयो ।
यस्तै गरी गत आर्थिक वर्षमै विवेक कुँवर र कुबर बिल्डर्स निर्माण व्यवसायीबाट सुग्जरखोला पुल, खहरे–बाँसटारी, झडेवा–गोठादी सडकको काम पनि सकिएको छ । सोही निर्माण व्यवसायीले गाईघाट पुल रानीमहल, गाईघाट कल्लाबारी खानीगाउँको काम पनि सकेको छ ।
२०७६ साल पौष महिनादेखि पाल्पामा काम गर्दै आएको सडक पूर्वाधार कार्यालयले अहिलेसम्म ११ वटा पुल निर्माण कार्य सम्पन्न गरेको जनाएको छ ।
जसबाट पुल नहुँदा वर्षौदेखि आवत जावतमा दुःख पाएका नागरिकले पुलको निमार्ण कार्य सम्पन्न भएसंगै सहज महशुस गरेका छन् । यसका साथै आम नागरिकको शिक्षा, स्वास्थ्य र यातायातको पहुँचमा वृद्धि भएको स्थानीयवासीहरुको भनाइ रहेको छ । सडकसंगै पुल बनेपछि स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजको बजारीकरणमा समेत सहज भएको छ ।
अहिले पाल्पामा पूर्वाधार विकास कार्यालयबाट टेन्डर भएर निर्माणाधीन अवस्थामा ५ वटा पुल रहेका छन् । चालु आर्थिक वर्षमा ४ वटा पुलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख गुप्ताको भनाइ छ । यस आर्थिक वर्षमा सम्पन्न हुने पुलहरुमा रिडी खोला पुल मनभाग, हुमिन रिंङनेरह ज्यामिरे सडक खण्डमा पर्ने जमलेघाट पुल, धागो कारखाना चरड्डे झुम्सा सडकमा पर्ने बेलदमार पुल, झुम्सा सत्यवती सडक खण्डको गोवरबन्दी पुलको काम सम्पन्न गर्ने गरी काम अगाडि बढेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । निर्माणधीन दोभान कचल सडक खण्डको पुरमान पुल भने आगामी आर्थिक वर्षमा मात्र सकिने छ ।
जिल्लामा पुल निर्माण कार्य गर्दा निर्माण व्यवसायी र स्थानीयवासीहरुको सकारात्मक सहयोग रहेको छ । चालु आर्थिक वर्षमा ३ वटा पुलको निर्माण प्रकृया अगाडि बढाउने तयारी रहेको छ । जस अनुसार हुमिन रिङनेरह ज्यामिरे सडक खण्डको सिमल्दी खोला पुल, गल्दाफाँट पुल र रकम खोला पुल रहेका छन् ।