
पाल्पा । गौ वंश हत्याको विरुद्धमा तानसेनमा शान्ति र्याली निकालिएको छ ।
विश्व हिन्दु महासंघ पाल्पा र ओमकार परिवारको संयुक्त आयोजनामा र्याली निकालिएको हो ।
धरानलगायत देशका विभिन्न ठाउँमा भएको गौ हत्या गर्नेलाई कारबाहीको माग गर्दै र्याली आयोजना गरिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताउनुभयो । र्यालीमा सहभागीहरूले तानसेन बजार परिक्रमा गर्दै गौ हत्या तत्काल बन्द गरौँ, गौहत्या गर्नेमाथि कारबाही गरौँ, संविधानको पालना गरौँ, सामाजिक सद्भाव कायम गरौँलगायतका नारा लगाएका थिए ।
देशमा गौ हत्या अन्त्य, गौ हत्या सम्बन्धी बनेको संवैधानिक कानुनको पूर्ण पालना, धर्मान्तरण रोकिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, सामजिक सद्भाव कायम गर्नुपर्नेलगायतका माग राखी दबाबमूलक शान्तिपूर्ण र्याली गरिएको अध्यक्ष पौडेलको भनाइ थियो ।