औद्योगिक ग्राम निर्माणको प्रगति न्यून

तानसेन । तानसेन नगरपालिकाकाे औद्योगिक ग्राम निर्माणको प्रगति न्यून रहेको पाइएकाे छ ।

संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रम अन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लिन नसकेको हो । पाल्पा तानसेन – ७ कुनसरेमा डिपीआरको काम सकेतापनी अन्य काम भने अगाडि बढ्न सकेको छैन् ।

तानसेन नगरपालिकाले चार वर्षअघिदेखि सुरु गरेको औद्योगिक ग्राम निर्माणको कामलाई तीव्रता दिन सकेको छैन । आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारबाट औद्योगिक ग्राम निर्माणका लागि ९२ लाख रुपियाँ बजेट प्राप्त भएपछि डिपिआरको काम अघि बढाएको थियो । डिपिआरको काम सकेतापनी पछिल्लो समय रकम अभाव देखाउँदै नगरपालिकाले ग्राम निर्माणमा ढिलाइ गरिरहेको छ ।

स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्न, स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सीपको अधिकतम उपयोग गर्ने, साना उद्योगको विकास गरी उत्पादन बढाउने उद्देश्यले सरकारले आव २०७५/७६ को बजेटमार्फत प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो । तानसेन नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत जीवन ज्ञवालीले एक वर्षभित्र काम सक्ने गरी सम्झौता भए पनि ठेकेदारले अहिलेसम्म काम नसकेको बताउनुभयो । उँहाका अनुसार ग्राम निर्माणका लागि नगरपालिकाले सात करोड भन्दा बढिको योजना ल्याएको छ तर सङ्घीय सरकारबाट पर्याप्त बजेट नआउँदा योजनाको काममा ढिलाइ भएको हो ।

औद्योगिक ग्राम निर्माणको जिम्मा लिएको वसन्त निर्माण सेवाले अहिलेसम्म काम पूरा नगरेकोे तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो  ।

तानसेनको कुनसरेमा जस्तै जिल्लाको रामपुर नगरपालिका औद्योगिक ग्राम निर्माणमा ढिलो भएको छ भने माथागढी र रिब्दीकोटमा औद्योगिक ग्राम निर्माणको काम सुरु हुन सकेको छैन् ।

सम्बन्धित खवर