
पाल्पा । १० औ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । पाल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा महिला र पुरुषको जुनियर र सिनियरको स्पाइरिङ र प्याटन गरी २ वटा विधामा ४२ स्वर्ण, ४२ रजत र ६० कास्यपदकको लागि ३ सय ४३ जना खेलाडीको सहभागिता रहेको थियो । १४ डोजाङका खेलाडीहरुले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ९ वटा स्वर्णपदक सहित बिजु डोजाङ पहिला, ८ स्वर्ण पदक सहित तानसेन डोजाङ दोस्रो, ७ वटा स्वर्ण पदक सहित जिती हिदन डोजाङ तेस्रो भएका छन ।
प्रतियोगितामा महिलाबेष्ट प्लेयरको उपाधि सिनियरमा एलिसा घर्ति मगर र पुरुषमा विवेक बुढाले प्राप्त गर्नुभएको छ । जुनियर महिलामा समीक्षा थापा र पुरुषमा श्रीजल पाण्डे वेष्ट प्लेयर हुनुभयो । पुरस्कार वितरण कार्यक्रममा भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा तानसेन ७ काजीपौवाका दुई जना पदक विजेता खेलाडीहरु एन्जल रेग्मी र रजन रेग्मीलाई संघले नगद १५/१५ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ । सो प्रतियोगितामा एन्जल रेग्मी एक स्वर्ण दुई कास्य र रजन रेग्मीले एक रजत र एक कास्य पदक जितेका थिए ।
तानसेनमा २ दिन सम्म संचालन भएको प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्दे लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगरले पाल्पामा मार्सलआर्टको कर्भडहल नभएकोले यसको लागि बजेट छुट्याउन पहल गर्ने बताउनुभयो । यस्तैगरी लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले तेक्वान्दो खेल प्रति खेलाडी आर्कषित रहेतापनि यसको विकासका लागि सरकारको ध्यान पुग्न नसकेको बताउनुभयो । उहाँले राज्यले देशको गहनाका रुपमा रहेका खेलाडीहरुलाई उचित बजेट छुट्याउनु पर्नेमा समेत जोड दिनुभयो ।
प्रतियोगिताको समापन कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र वि.क., जिल्ला खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष दीपक घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सचिव यज्ञमुर्ति तिमिल्सिनालगायतले विजयी खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।
शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले टुंडिखेल मैदानमा शुभारम्भ गर्नुभएको प्रतियोगिता समापन कार्यक्रम संघका अध्यक्ष निर बहादुर सारुको अध्यक्षता र सचिव नगेन्द्र मल्लको संचालनमा भएको हो ।








