
पाल्पा । २ सय ३ औं श्री ७ रणउजेश्वरी भगवतीको रथ यात्रा सकिएको छ । भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा सहित रथको नगरपरिक्रमा गरी भव्य रुपमा मनाइएको छ ।
नुवाकोट जितगढी किल्लामा नेपाली फौजले अंग्रेजको फौजलाई पराजित गरेको खुसीयाली २ सय ३ वर्षदेखि निरन्तर रुपमा भगवतीको रथयात्रा मनाइँदै आइएको छ । विक्रम संम्वत् १८७१÷७२ को नेपाल–अंग्रेज युद्धमा नेपाली फौज विजयी भएको खुसीयालीमा तत्कालीन कर्णेल उजीर सिंह थापाले १८७७ देखि भगवती सिन्दुर यात्रासहित रथयात्रा निकाल्न सुरु गरेका थिए । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवतीको रथलाई बजार परिक्रमा गराउने चलन रहेको छ । श्री ७ रणउजेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्दै तानसेन नगर परिक्रमा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो ।
मन्दिर परिसरमै कर्नेली पुजा दिने चलन छ । पञ्चबली दिएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको गणमा पुजा गरी बली दिने चलन छ । भगवतीको रथयात्राका दिन तानसेन र वरपरबाट आएकाले भाकल अनुसारको कुखुरा, हाँस, बोका, राँगो बली दिने चलन छ । तानसेन बजारमा जयजयकारको गुन्जनसहित भगवतीको रथलाई टोल, टोलमा घुमाउँदा तानसेन बजार गुञ्जायमान भएको थियो ।
तानसेन बजारको मध्ये भागमा रहेको रणउजेश्वरी भगवतीको मुर्ति रहेको रथलाई बाजागाजासहित जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, सरकारी कर्मचारी, भजनमण्डल, नगरबासी सहभागी भएका थिए । भगवतीको रथले नगरपरिक्रमा गर्दा घर–घरबाट पुजा दिने चलन छ । तत्कालीन पाल्पा गौंडाका प्रसासक कर्णेल उजीरसिंह थापाले सुरु गरेको भगवतीको रथयात्राले अहिलेसम्म निरन्तरता पाएको छ । रथयात्रा गर्दा कुमाल जातीका जवानले भगवतीको मुर्ती राखिएको रथलाई उठाएर नगर परिक्रमा गराउन सुरु गरेका थिए । परम्परा अनुसार भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिँया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुन्जनध्वनी र बन्दुकको बढाईका साथ मुर्तिलाई रथमा राखेर नगर परिक्रमा गराउने चलन छ ।
जात्रा हेर्न पाल्पाका विभिन्न स्थानका साथै बाहिर जिल्लामा बसोबास गर्ने पाल्पाली र छिमेकी जिल्लाका नागरिक समेत आएका थिए । जात्राको अवसरमा पाल्पाका सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा सजिएर आएका थिए । यस्तै, जात्रामा विद्यालयबाट विद्यार्थीलाई रथयात्राको र्यालीमा सहभागी थिए । आज पाल्पा जिल्लामा प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको थयो ।
धार्मिक संघसंस्थाका झाँकी, शिक्षक, विद्यार्थी साथै तानसेनका टोल विकास संस्थाका सदस्यहरु जात्रामा सहभागिता थियो । इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार वुटवल क्षेत्रको अंग्रेजसँगको लडाईमा विजयी भएपछि केही वर्षपछि १८७७ देखि भाद्रकृष्ण नवमीका दिन जात्रा चलाउने परम्परा उजीरसिंहले बसालेका हुन । थापले युद्धमा विजयी भएपछि तीनतले प्यागोडा शैलीको मन्दिर (भगवती मन्दिर) निर्माण गरेका हुन । त्यसपछि भगवतीको शक्तिको महिमा अझ बढेको किम्बदन्ती रहेको छ ।