उत्कृष्ट शिक्षक पुरस्कारबाट बस्याल पुरस्कृत

पाल्पा । पीपी प्रसाई फाउण्डेशनले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट शिक्षक पुरस्कारबाट पाल्पाका गोपालप्रसाद बस्याल पुरस्कृत हुनुभएको छ । उहाँले पीपी प्रसाई एक्सीलेन्स् इन एजुकेशन अवार्ड २०२३ र टुरिज्म लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८० मा राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत हुनुभएको हो ।

लुम्बिनी प्रदेशबाट मोहन कन्या माध्यमिक विद्यालय तानसेन पाल्पामा कार्यरत शिक्षक बस्यालले नगद ५० हजार रकम सहित सम्मानित हुनुभएको हो । यसका साथै मोहन कन्या माध्यमिक विद्यालयले १० हजार बराबरको शैक्षिक सामग्री समेत प्राप्त गरेको गरेको छ ।

लामो शिक्षण तथा प्रशिक्षण अनुभव भएका पुरस्कृत शिक्षक बस्याल शिक्षकका साथै लेखक, पत्रकार, साहित्यकार र विश्लेषकका रुपमा पनि चिनिनुहुन्छ । उहाँका पाठ्यपुस्तक, सन्दर्भ सामग्री, साहित्यिक कृतिहरु, शिक्षा र समसामयिक विषयवस्तुमा आधारित लेखहरु नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित रहेका छन् ।

नेकोन एअरको सेप्टेम्बर ५, १९९९ मा भएको जहाज दुर्घटनामा दिवंगत पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्झनामा २०६७ सालमा स्थापित उत्कृष्ट शिक्षक पुरस्कार नेपालको सार्वजनिक शिक्षा र पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेका व्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने गरेको फाउण्डेशनका अध्यक्ष शिखर प्रसाईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर