संयुक्त प्रयासबाट मात्र दुर्घटना न्यूनीकरण सम्भव : प्रमुख चापागाई

पाल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईले सबैको संयुक्त प्रयासबाट मात्र दुर्घटना न्यूनीकरण सम्भव भएको बताउनुभएको छ । केही समय अगाडि मात्र पाल्पाको ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी लिएर आउनुभएका बरिष्ठ प्रहरी नायव निरीक्षक चापागाईले करुवान्यूजसंगको कुराकानीमा यस्तो बताउनुभएको हो ।

यसका साथै उहाँले सडक प्रयोगकर्ताले सामान्य कुराको ध्यान राख्दा ठूला दुर्घटना हुनबाट जोगिने समेत बताउनुभयो । बरिष्ठ प्रहरी नायव निरीक्षक चापागाईले अहिले विकासका नाममा भएको सडक विस्तारका क्रममा बाटोको माथिल्लो भाग कमजोर बनेको छ । पानी वा घाम लाग्दा पनि जुनसुकै समयमा पहिरो जानसक्ने अवस्था भएकोले यात्रुहर यात्रामा निस्कदा ख्याल गर्नुपर्ने र सवारी चालक चनाखो हुनुपर्नेमा समेत जोड दिनुभयो । यसका साथै सवारी चालकबाट हुने त्रुटी हटाउने, मोडहरुमा संकेतको प्रयोग गर्ने, हरनको प्रयोग गर्ने सिट वेल्टको प्रयोग गर्ने, सवारी साधनको नियमित मेकानिकल चेकजाँच गराउने, क्षमता भन्दा बढी यात्रु नराख्ने र तीव्र गतिमा सवारी नहाक्ने गर्दा दुर्घटना न्यूनीकरण हुने बरिष्ठ प्रहरी नायव निरीक्षक चापागाईको भनाइ छ ।

पाल्पाका अधिकांश सडक कच्चि र साँघुरा रहेकोले आफू जिम्मेवारी लिएर आएपछि सडक र विभिन्न विद्यालयमा ट्राफिक सचेतान चलाउन थालेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा स्थानीय तहसंग समन्वय र सहकार्यमा ट्राफिक जनचेतनाका साथै विभिन्न स्थलमा सिसीटिभी जडानको काम गर्ने योजनामा रहेको बताउनुभयो । पछिल्ला वर्षमा पाल्पामा ट्राफिक उल्लंघनका घटना बढिरेको तथ्याँकले देखाएको छ ।

यसै बीच ट्राफिक प्रहरी कार्यालय पाल्पाले एक महिनाको अवधिमा ६ लाख ४३ हजार पाँच सय बराबरको राजस्व सकंलन गरेको जनाएको छ । प्रहरी बरिष्ठ नायब निरीक्षक चापागाईका अनुसार गत महिना २ सय १० ट्रक, टिप्परबाट १ लाख ६१ हजार, १ सय १६ बस, मिनीबसबाट ६९ हजार, ३ सय ५ बटा जीप, कार र भ्यानबाट २० हजार ५ सय, ५४ वटा ट्रयाक्टरबाट ४१ हजार, २ सय १५ वटा मोटरसाइकलबाट १ लाख ६७ हजार ५ सय गरी कुल ९ सय सवारीसाधनबाट ६ लाख ४३ हजार पाँच सय राजस्व संकलन भएको जानकारी दिनुभयो ।

सम्बन्धित खवर