भगवती जात्रा बारे पत्रकार सम्मेलन

पाल्पा । नेपाल–अंग्रेज युद्धको सम्झना स्वरुप तानसेनमा निस्कने श्री ७ रणउजीरेश्वरी भगवतीको खट्यात्रा (जात्रा) भदौ २१ गते निस्कने भएको छ ।

हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन निकालीने रथयात्राका विषयमा रणउजीरेश्वरी भगवतीका गुठी व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरी भदौ २१ बिहीबार जात्रा निकाल्ने तयारी भएको जानकारी दिएको छ ।

यसपटक भगवतीको २ सय ३ औं जात्रा निस्कने गुठीका अध्यक्ष अशोक महजर्नले बताउनुभयो । उहाँका अनुसार कर्णेल उजीरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गर्नुभएको थियो । थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेजलाई परास्त गरेको थियो । युद्धमा निस्कनु अघि कर्णेल थापाले विजय भएमा ठूलो मन्दिर बनाई जात्रा शुभारम्भ गर्ने भाकल गरे अनुसार मन्दिर बनाएको पौराणीक कथन छ ।

यस वर्षको रथयात्रालाई सफल बनाउन गुठी व्यवस्थापन समितिले विभिन्न उपसमितिहरु गठान गरेर तयारी गरिरहेको छ । रथयात्राका दिन हुने भिडभाडलाई व्यस्थित गर्नका लागि स्वयमसेवक खटाइने, बुटवलबाट पाल्पा आउने यात्रुलाई पश्चिम नेपाल यातायातले ५० प्रतिशत छुट दिने साथै आर्थिक सहयोगका लागि सबैसगँ अपील गरिएको गुठिका सचिव प्रकाशनाथ गोङ्गलले जानकारी दिनुभयो ।

भगवतीको रथयात्रा तानसेनमा स्थानीय रुपमा मनाइदै आएको भए पनि यो जात्राको राष्ट्रिय महत्व रहेको छ । जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा लिइने गरिएको छ । तानसेनको भगवतीटोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा सहित बजार परिक्रमा गर्ने प्रचलन रहदै आएको छ । भगवती मन्दिरबाट बाजागाजाका साथ सुरु हुने खट्यात्रा तानसेन दरबार परिसर हुँदै दरबारको मुलढोकाबाट निकालेर बजार परिक्रमा गरिन्छ ।

सम्बन्धित खवर