
पाल्पा । मोहन कन्या माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रमका लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले कन्या मात्रले अध्ययन गर्ने एकमात्र प्राविधिक विद्यालयको शैक्षिक एवम् भौतिक गुणस्तर वृद्धिका लागि सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली समाज अहिले पनि नारी शिक्षाका लागि लगानी गर्न पूर्ण रुपमा तयार नर्भैसकेको अवस्थामा छोरीहरुलाई प्राविधिक शिक्षा प्रदान गरी आत्मनिर्भर बन्नका लागि सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । प्रदेश सभामुख घर्तीमगरले प्रदेश सरकार मातहतबाट हुनसक्ने सहयोगका लागि आफ्नो समन्वय र सहयोग विद्यालयलाई गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २ करोड ५७ लाखको आम्दानी खर्च पेश गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान प्रसाद श्रेष्ठले प्रतिबद्धता प्रस्तुत गर्दै विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम लागु गर्न चाहेको, विद्यालय छात्राबासको विस्तार, कक्षा १ देखि १२ सम्म कम्प्युटर शिक्षासहित अंग्रेजी माध्यममा अध्यापन गराई नारीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्ने र भौतिक एवम् प्राविधिक साधनस्रोत सम्पन्न गर्ने योजनाका साथ अगाडि बढेको जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष झपेन्द्र गहिरेले विद्यालयको छात्राबास विस्तार गरी लुम्बिनी प्रदेशका सबै जिल्लाबाट छात्राहरुलाई भर्ना गरी प्राविधिक शिक्षा दिने विद्यालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी विद्यालयका पूर्व सचिव शोभा शाक्य, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव वश्याल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, शिक्षकहरु चालेल प्रसाद ज्ञवाली, गोपालप्रसाद वश्याल, कक्षा १२ का छात्रा वर्षा तिमिल्सिना लगायतले छोरीलाई प्राविधिक शिक्षाको अवसर सहति दक्षता वृद्धि गराउने र आयआर्जनका लागि सक्षम बनाउनुपर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न छात्रबृत्ति र पुरस्कार वितरण गरिनुका साथै छात्राहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।