पाल्पा । बाँझो जग्गा भाडामा लिएर रम्भा गाउँपालिकाले कृषक समूहलाई सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।
गाउँपालिकाको ३ नं. वडा पिपलडाँडाका कृषकहरुलाई कृषिमा प्रोत्सहान गर्न जग्गा सहित नगद अनुदानमा समेत सहयोग गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । तरकारी पकेट क्षेत्रका रुपमा बजेट विनियोजन गरेर काम लगाएपछि कृषकहरु उत्साहित भएर कृषि कर्ममा लागेका छन् । जसबाट कृषक समूहमा आबद्ध कृषकहरुले राम्रो आम्दानी गर्न थालेको अध्यक्ष भण्डारीको भनाइ छ । पिपलडाँडाको सोमधारे कृषक समूहमा आबद्ध ४४ घरपरिवार कृषकहरुले तरकारी खेतीबाट वार्षिक तीन लाखदेखि ७ लाखसम्म आम्दानी गर्ने गरेको समूहकी अध्यक्ष विष्णुमाया घर्तीले जानकारी दिनुभयो ।
गाउँपालिकाले समूह मार्फत कृषि खेतीलाई प्रोत्साहन गर्ने गरी पहिलो पटक सिटाके च्याउ विस्तारका लागि ८ लाख रुपैंयाँ सहयोग पाएको समूहकी अध्यक्ष घर्तीले बताउनुभयो । जसबाट ५ हजार ५ सय मुढामा सिटाके च्याउ खेती भैरहेको छ । अकबरे खुर्सानी र टमाटर पनि प्रशस्त मात्रामा उत्पादन भएको छ । यस बाहेक काउली, बन्दा, सिमी, साग, करेला, लौका, घिरौंला जस्ता तरकारी उत्पादनका लागि गाउँपालिकाले पहिलो चरणमा ६ लाख र पछिल्लो आर्थिक वर्षमा ३ लाख बजेट समूहलाई उपलब्ध गराएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणका लागि कुनै समस्या नरहेको कृषक केदारप्रसाद बस्यालले बताउनुभयो । उहाँका अनुसार उत्पादन भएको तरकारी खरिदका लागि भैरहवा बुटवलबाट व्यापारीहरु गाउँमै आउने गरेका छन् । बजारिकरणको कुनै समस्या नभएको कृषक बस्यालको भनाइ छ । उत्पादन भएको तरकारीका लागि बजार व्यवस्थापनमा समस्या भए गाउँपालिकाले सहजीकरण गर्ने योजना बनाएको छ । आवश्यक परेमा कृषि एम्बुलेन्स समेत सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
कृषिकर्म प्रति युवा पुस्ताको आकर्षण कम हुँदै आइरहेको समयमा समूहमा मिलेर खेती गर्दा युवा तथा महिलाहरुमा सामुहिक भावनाको विकास हुनुको साथै राम्रो आम्दानी दिन सकेकोमा उत्साहित भएर काम गर्ने गरेको कृषक राम बहादुर सुर्यवंशीले बताउनुभयो । गाउँपालिकाले १० रोपनी बाँझो जमिन भाडामा व्यवस्था गरिदिएको छ । यस बाहेक ४४ घरपरिवारका कृषकले आÇनो जमिनमा पनि खेती गर्दै आएका छन् ।
चालु आर्थिक वर्षमा नगद अनुदान नभएपनि भाडामा लिइएको जग्गाको क्षेत्रफल बढाउने सोंचमा गाउँपालिका रहेको अध्यक्ष भण्डारीको भनाइ छ । यसका साथै कृषकका लागि आवश्यक आधुनिक कृषि औजारको सहयोग र पानी टंकी निर्माणका साथै बीउ विजनमा सहयोग उपलब्ध गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।