तानसेनमा निकालियो चुइँकी फिराई

पाल्पा । जात्रा सुरु भएको संकेत स्वरुप निकालिने चुइँकी फिराई तानसेनमा निकालिएको छ ।

चुइँकी फिराई निकालेपछि पाल्पामा जात्रा सुरु हुन्छ । गाईजात्रा निकाल्नु भन्दा अघि अर्थात जनैपूर्णिमाको दिनदेखि नौ दिनसम्म जात्रा सुरु भएको संकेत स्वरुप निकालिने चुइँकी फिराई पाल्पा सदरमुकाम तानसेनमा निकालिएको हो ।

केही दशक अघिदेखि लोप हुने अवस्थामा रहेको चुइँकी संरक्षण गर्न तानसेनका दुई समूहले जात्राका रुपमा मनाउँदै आएका छन् । पहिला थोत्रा टिन बजाएर दिवंगत परिवारको घरघरमा पुगेर गाईजात्राको निम्ता दिने प्रचलन भएपनि अहिले यो जात्राका रुपमा तानसेनका चोकचोकमा निकाल्ने गरिएको छ । यस्तो जात्रामा शहरका सबै मानिसले सुन्ने गरी ढ्याङढुङ र झ्याली पिटेर मनाइदै आएको कलाकार किरण चित्रकारले बताउनुभयो ।

पहिले चुइँकीमार्फत परिवारका सदस्य दिवंगत भएका घरबाट बास्सा, ताहामचा, गाई निकाली दरबारमा ल्याउनु भनी निम्तो दिएर जात्रा निकालिने भएपनि पछिल्ला वर्षहरुमा यो जात्रा चोकमा मात्रै निकालिन्छ । जनैपूर्णिमाको दिन चुइँकी निकाले पश्चात गाई जात्रा पनि आजै निकालिएको छ । पहिले मल्ल, सेन र राणाका पालामा काठमाडौसंगै नेवार समुदायको बस्ती रहेको तानसेनमा जात्रा निस्कने गरेको पाइन्छ ।

सम्बन्धित खवर