सरकारी अस्पताल व्यवस्थित बनाउन सांसद गैरेको माग

पाल्पा । पाल्पा क्षेत्र नं. २ का संघीय सांसद ठाकुर प्रसाद गैरेले पाल्पा अस्पताल सहित जिल्लाका अन्य सरकारी अस्पताललाई व्यवस्थित गर्न सरकारसंग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वास्थ्य बीमाको माध्यमबाट जनताको स्वास्थ्य माथी सरकारले ठूलो खेलबाड गरी गैरजिम्मेवार बनेकोमा दुःख व्यक्त गर्दै सांसद गैरेले तत्काल विभिन्न जिल्लामा सरकारी अस्पताल सहित अन्य स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित बनाउन माग गर्नुभएको हो । उहाँले अन्य जिल्लामा बेवारीसे अवस्थामा रहेका मेसिनहरु पाल्पाको सरकारी अस्पतालमा पठाउन, दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सको व्यवस्थासंगै पूर्वाधार निर्माणको ग्यारेण्टी गर्न समेत आग्रह गर्नुभएको छ ।

यसका साथै सांसद गैरेले स्वास्थ्य बीमा बोर्डले भर्खरै जिल्लाका युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गराएकोमा आपती समेत प्रकट गर्नुभएको छ । उहाँले जिल्लाको सरकारी अस्पताल पूर्वाधार, प्रविधी र विशेषज्ञ चिकित्सक विहिन भएको अवस्थामा ठूला अस्पतालबाट बीमा मार्फत हुने सेवा बन्द हुनु दुःखद रहेको समेत बताउनुभयो ।

सांसद गैरेले जिल्लाको अवस्था नबुझि सेवा बन्द गरेर नागरिक माथी सरकारले बेइमानी गरेको आरोप समेत लगाउनुभयो । पाल्पामा १२ हजार ८७ ज्येष्ठ नागरिक सहित ५८ हजार ६ सय ९२ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन् । जसमा २ लाख ३६ हजार ९५ जना सदस्य स्वास्थ्य बीमा कार्यक्रममा सहभागी छन् ।

ठूला निजी तथा सामुदायिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदा सहज रुपमा स्वास्थ्य सेवा लिने अस्पताल नभएको सांसद गैरेको भनाइ छ । त्यसैले तत्काल सरकारी स्वास्थ्य संस्थालाई पूर्ण रुपमा सवल बनाउनुतर्फ ध्यान दिन र बीमितको स्वास्थ्य सेवा लिने अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभयो । यसका साथै बन्द भएका अस्पतालहरुमा तत्काल बीमा सेवा सुचारु गर्न आग्रह समेत सांसद गैरेले गर्नुभएको छ । यदी होइन भने सरकारले स्वास्थ्य बीमामा आबद्ध हुनका लागि गरेको विज्ञापन बन्द गरेर बीमामा कोही पनि आबद्ध नहुनु भन्ने सन्देश प्रवाह गर्न अनुरोध गर्नुभयो । बीमा मार्फत नागरिकले आफ्नो स्वइच्छाले स्वास्थ्य सेवा पाउनुपर्नेमा सेवा लिँदै आएको अस्पतालबाट सेवा बन्द गर्नु गलत भएको बताउदै सांसद गैरेले सरकारको गम्भीर ध्यानआर्कषण गराउनुभएको छ ।

यसका साथै सांसद गैरेले सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत ६ कक्षाका बालबालिकाहरुको दिवा खाजा कार्यक्रम बन्द भएकोमा अचम्म परेको बताउनुभएको छ । उहाँले सरकार नागरिकको अभिभावक हुनपर्नेमा ती कलिला बालबालिकाको भोको पेटमा किन लात हानेको हो ? भनेर प्रश्न गर्नुभएको छ । यसका साथै सांसद गैरेले ६ कक्षाको दिवा खाजा कार्यक्रम बन्द गर्ने निणर्य बदर गर्न र १० कक्षा सम्मका सम्पूर्ण बालबालिकाहरुलाई दिवा खाजाको प्रबन्ध गर्न माग समेत गर्नु भएको छ ।

सांसद गैरेले पाल्पाको ऐतिहासिक रणउजेश्वरी भगवतीको रथयात्राको सरकारलाई निमन्त्रणा समेत गर्नुभएको छ । राष्ट्रियता, वीरता, धीरता, रणकौशलको इतिहास गाँसिएको रथयात्रा कृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा हुने गरेको छ । यसपटकको रथयात्रा भदौ २१ गते मनाइदै छ । सांसद गैरेले काठमाडांैमा निस्कने जात्रामा जस्तै पाल्पाको ऐतिहासिक धार्मिक र राजनीतिक महत्व रहेको भगवती रथयात्रामा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित उच्चपदस्थ व्यतित्वहरुको उपस्थितमा हुने प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सम्बन्धित खवर