
पाल्पा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर जस्तै पाल्पामा पनि मनाइएको छ । नयाँ जनै फेरेर र हातमा रक्षाबन्धन अर्थात (डोरो) बाँधेर पर्व मनाइएको हो ।
बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्नेकाम गरेका छन् । पूर्णिमाको दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने चलन छ ।
यसै दिन ब्राह्मण,क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रका जानकार कमल प्रसाद घिमिरेले बताउनुभयो । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र)धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने गर्दछन् । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । घिमिरेका अनुसार वैदिक गुरु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।
घरबाट टाढा रहेका र दिदीबहिनीहरु नभएका दाजुभाईहरु रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पाल्पाका शिवालयहरु र मठ मन्दिरमा भक्तजनको चहलपहल देखिन्थ्यो । आजकै दिन नेपालको तराई मधेशमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न रंगका राखी हातमा बाँधिदिएर यो पर्व मनाइने गरिन्छ । तर, पछिल्लो समयमा पहाडी भेगमा पनि दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिने प्रचलन रहेको छ । दिदीबहिनी र दाजुभाइ बीचको प्रेमसम्बन्ध बढ्ने सामाजिक मान्यता अनुसार पर्व मनाउने गरिन्छ ।
जनैपूर्णिमाका अवसरमा घरमा विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाई ताप सञ्चार हुने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।