कृषिमा तानसेनको बजेट ६७ लाख ६५ हजार

पाल्पा । चालु आर्थिक वर्षका लागि तानसेन नगरपालिकाले कृषि क्षेत्रमा ६७ लाख ६५ हजारका को काम गर्ने भएको छ ।

नगरपालिकाले कुल कृषिको बजेटमा स्थानीय स्रोतबाट १० लाख विनियोजन गरेको जनाएको छ । यसका साथै यस वर्ष प्रदेश सरकारबाट ११ लाख ५० हजार र संघीय सरकारबाट ४६ लाख १५ हजार प्राप्त भएको छ । यो नगर सरकारको कुल पूँजिगत बजेटको १ दशमलव ४५ प्रतिशत हुने कृषि शाखा प्रमुख सरोज तिमिलसेनाले जानकारी दिनुभयो ।

यस वर्ष तानसेन नगरपालिकाले कृषि क्षेत्र अन्तरगत कृषि, पशुपंक्षी, बजारका लागि पूर्वाधार कार्यक्रमका लागि १० लाख २५ हजार बजेट विनियोजन गरिएको छ । यस्तै २०७९/८० मा स्थापना भएको तरकारी बाली पकेट विकास कार्यक्रमको निरन्तरता का लागि ४ लाख ९८ हजार , २०७९÷८० मा स्थापना भएको च्याउ पकेट विकास कार्यक्रमको निरन्तरता ६ लाख २ हजार रकम विनियोजन गरिएको सूचना अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिनुभयो । यसका साथै यो वर्ष किसान सूचिकरण कार्यक्रमका लागि २ लाख ४९ हजार, कृषि पशुपंक्षी तथा मत्स्य तथ्यांक अध्यावधिक कार्यक्रमका लागि १ लाख, बीउ विजन उत्पादन आपूर्ति तथा व्यवस्थापन कार्यक्रमका लागि १० लाख ५ हजार, खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदानमा ८ लाख रकम रहेको शाखा प्रमुख तिमिलसेनाले बताउनुभयो ।

सूचना प्रकाशन तथा उन्नत बीउ उपयोग अनुगमन निरीक्षणका लागि एक लाख ५० हजार, उन्नत बीउ वितरणलाई प्रोत्साहन अनुदानमा एक लाख, मौरी प्रवद्र्धन कार्यक्रमका लागि १० लाख, बाली कटानी तथा रिपोटिङ्गका लागि ५० हजार, कृषि पशुपन्क्षी विकास कार्यक्रम अनुगमन तथा समन्वयका लागि एक लाख, बाली संरक्षण खरिदका लागि तिन लाख, रासायनिक मलखाद व्यवस्थापन कृषि समिती बैठक अनुगमनमा ५० हजार, मागमा आधारित कार्यक्रमका लागि एक लाख ५० हजार र कृषि तथा रोजगार महोत्सवका लागि ५ लाख बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

तानसेन नगरपालिकाको कुल जनसंख्या ५० हजार सात सय ९२ रहेको छ । यहाँका करिब ६३ प्रतिशत जनता कृषिमा निर्भर रहेका छन् । नगरपालिकाले ओगटेको क्षेत्रफल १ सय ९ दशमलव ८० वर्ग किमी छ । जसमध्य ५३ दशमलव ४० वर्ग किमी अर्थात ४८ दशमलव ६४ प्रतिशतमा खेती हुने गरेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर