
पाल्पा। एघार वर्ष अघि तानसेन ५ शिवपोखरी सम्मोबारीमा निर्माण गरिएको सेनेटरी ल्याण्डफिल्ड साइट प्रयोगमा तानसेन नगरपालिका उदासिन बनेको छ ।
तानसेनमा दैनिक उत्पादन हुने १० टन बढी फोहर व्यवस्थापनका लागि २०६९ सालमा निर्माण सम्पन्न गरेको साइट प्रयोगमा नआउँदा अस्तव्यस्त बनेको छ । निर्माण गरिएका संरचनाहरु काम लाग्ने अवस्थामा छैनन् । संरक्षणका लागि गरिएको साइट वरपरको तारबार र प्रवेशद्धार भत्किएको छ । यसका साथै साइटको हेरचाहका लागि खटिने कर्मचारीका लागि निर्माण गरिएको गार्ड घर जीर्ण अवस्थामा पुगेको छ ।
एक करोड ६१ लाख लागतमा निर्माण गरिएको सेनेटरी ल्याण्ड फिल्ड साइट २०६९ असोज २५ गतेदेखि सञ्चालनमा आएको थियो ।स्थानीय वडाबासीसंग तत्कालिन र दीर्घकालीन महत्वका विषयमा नगरपालिकाले २५ बुँदे सहमति गरेर सञ्चालनमा ल्याइएको सेनेटरी ल्याण्ड फिल्ड साइट सहमति विपरित ल्याण्डफिल्डका रुपमा प्रयोग गरेकोले स्थानीयले करिब एक वर्ष नपुग्दै २०७० असोज ३ गतेदेखि बन्द गराएका थिए । छेउमै वनभोज खान मिल्ने अवस्था हुने भनेर सञ्चालन सहमति जुटाएर काम सुरु गरेको नगरपालिकाले जथाभावी फोहोर फाल्दा प्रदुषण बढ्नुका साथै नागरिकको घरमा झिँगाका साथै कागले हड्डी समेत लैजान थालेपछि साइट बन्दको अवस्था आएको स्थानीय प्रेमबहादुर विश्वकर्माले बताउनुभयो ।
तत्कालिन समयमा जनप्रतिनिधि नभएको अवस्थामा सर्वेसर्वा बनेका कर्मचारीहरुले बन्द अवस्थामा रहेको साइटप्रयोगमा खासै पहल गरेनन् । २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि तानसेनमा निर्वाचित नगर प्रमुख अशोककुमार शाहीको नेतृत्वले पनि तानसेनको फोहोर व्यवस्थापनमा करोडौं लगानी भएको साइट प्रयोगका विषयमा छलफल समेत नगरेको नगरबासीको गुनासो रहेको छ । यस्तै स्थानीय तहको दोस्रो निर्वाचन पछि आएको सन्तोषलाल श्रेष्ठको नेतृत्वले पनि एक वर्ष बढी समय वितिसक्दा पनि यो साइटको प्रयोगका विषयमा चासो दिन भ्याएको छैन । प्रयोगका विषयमा मात्र नभै साइट बन्द हुनुको कारणको स्पष्ट खोजी समेत जनप्रतिनिधिले गरेका छैनन् । केही सिमित सत्ता पक्षका व्यक्तिहरुको भनाइलाई आधार मानेर साइट व्यवस्थापन र प्रयोगमा नगरपालिकाले ध्यान नदिएको आरोप स्थानीयवासीको रहेको छ ।
तर तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्कीले अब छिट्टैनै सेनेटरी ल्यान्डफिल साइटको व्यवस्थापन र प्रयोगको योजना रहेको बताउनुभयो । उहाँले अहिलेको वनदेवी क्षेत्रमा अल्पकालीन व्यवस्थापन मात्र भएकोले तानसेन नगरपालिकाको फोहोरको दीर्घकालीन व्यवस्थापनका विषयमा नगर सरकार गम्भीर रहेको बताउनुभयो ।
अहिले नगर कार्यपालिकाले फोहोर व्यवस्थापनका विषयमा आवश्यक समन्वयका लागि पूर्वाधार विकास समितिका संयोजक सुनिल बस्यालको संयोजकत्वमा समिति बनाएर काम अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । उहाँले पहिलो चरणमा बजारको दैनिक फोहोर व्यवस्थापनमा काम भैरहेको र अब छिट्टै दोस्रो चरण सेनेटरी ल्याण्डफिल्ड साइट सञ्चालनका विषयमा छलफल सुरु गरिने जानकारी दिनुभयो ।
सेनेटरी ल्याण्डफिल्ड साइट बन्द भएपछि तत्काल विकल्पका रुपमा देउराली सामुदायिक वन उपभोक्ता समितिको मातहतमा पर्ने वनदेवी क्षेत्रको जंगलमा अहिलेसम्म फोहोर विसर्जन गर्दै आइरहेको छ । यस क्षेत्रमा फोहोर फाल्दा माथिल्लो बस्तीमा प्रदुषण हुनुका साथै तल्लो भागका जनताले प्रयोग गर्ने खानेपानी र सडकमा समस्या आइरहेको छ ।
यस विषयमा समय समयमा वन उपभोक्ता समिति विरोधमा उत्रने गरेको छ भने जनस्वास्थ्यमा प्रतिकुल असल पर्ने गरी फोहोर नफाल्न तानसेन नगरपालिकालाई अदालतले आदेश पनि गरेको छ ।