सडकको पहुँचमा वृद्धि गर

पाल्पा । संघीयता पछि गाउँठाउँको विकासमा स्थानीय सरकार सक्रिय छ । जस अनुसार आफ्ना योजना तथा कार्यक्रम सञ्चालन गरिरहेका छन् । ती कार्यक्रमहरुले खासै नागरिकको समस्यालाई सम्वोधन गर्न सकेको अवस्था छैन् । स्थानीय सरकारले वार्षिक रुपमा विकासका योजना तथा कार्यक्रम तर्जुमा गरेर काम गरेपनि त्यो कर्मकाण्डी जस्तै बनेको छ । त्यसले आफ्ना नागरिकको सुविधालाई जोडन सकेको छैन् । वार्षिक रुपमा ठूलो धनराशी खर्च भएपनि क्षेत्रगत प्राथमिकता तोक्न नसक्दा उपलब्धी देखिन सकेको छैन् । खर्चका हिसावले स्थानीय सरकारको नेतृत्वलाई धेरै गरियो भन्ने लाग्नु स्वाभाविक पनि हो । भएको खर्च अनुसार प्राथमिकता तोकेरै काम गरेको भए नागरिकले दैनिक जीवन धेरै खाले समस्या भोग्नुपर्ने अवस्था आउदैनथ्यो । अधिकांश स्थानीय तहले कामको प्राथमिकतामा ध्यान दिन नसक्दा नागरिकले दुख पाएका छन् । यस विषयमा स्थानीय सरकारका प्रतिनिधिहरु गम्भीर भएर समस्याको प्राथमिकीकरण गरेर काम गर्नुपर्छ ।

ढिलै भएपनि दश स्थानीय तह मध्य रिब्दीकोट गाउँपालिकाले समस्याको प्राथमिकीकरण गरेर काम गर्न थालेको छ । पछिल्लो नेतृत्वले ग्रामीण सडकलाई उच्च प्राथमिकता दिएर काम गरेको छ । सडकलाई प्राथमिकतामा राखेर काम गर्दा कृषकहरुलाई कृषि र पशुजन्य उत्पादनको सहज बजारिकरणमा सहयोग हुन्छ । यसका साथै आम नागरिकलाई हिडडुलमा सहजता हुन्छ । समयको विकाससंगै उपलब्ध सेवा सुविधा उपभोग गर्न नागरिक सक्षम बन्छ । आफ्नो गाउँपालिका भित्रको सडक सञ्जाल चुस्त दुरुस्त हुँदा नागरिकको प्रशासनिक कार्यदेखि व्यवसायिक काम सहज ढंगबाट छोटो समयमा सम्पन्न गर्न सक्ने अवस्था तयार हुन्छ । गतवर्ष करिब १० करोड रुपैंया ग्रामीण सडकको स्तरोन्नतिमा खर्च गरेको गाउँपालिकाले यस वर्ष करिब १४ करोड १० लाख रुपैंया विनियोजन गरेको छ । बजेट अनुसार साच्चिकै प्राथमिकतामा राखेको योजना इमान्दारपूर्वक काम गर्दा नेतृत्व र नागरिक दुबैपक्षलाई फाईदा हुन्छ । यसको सिको अन्य गाउँपालिकाले गर्दा पनि राम्रो हुन्छ ।

पाल्पाका सबै स्थानीय सरकारले सबैभन्दा पहिला नागरिकलाई सडकका पहुँमा वृद्धि गर्नुपर्छ । भैगोलिक हिसावले सुगमदेखि विकट सम्ममा रहेका वडाहरुबाट सेवा लिन नागरिकले सहज रुपमा पाउने व्यवस्था मिलाउनु पर्छ । कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान होस् वा बिमारी हुँदा अस्पतालसम्म छिटो पुग्न पनि स्तरीय सडक आवश्यक छ । समयको विकासक्रम संगै दैनिक जीवनमा प्रयोग गरिने सवारी साधनको प्रयोगका लागि पनि सडक चाहिन्छ । समयको बचत गाउँ र सहरबीचको सम्पर्कका लागि पनि सडक आवश्यक छ । साच्चैनै भन्नेको हो भने विकासको एउटा सूचक सडक पनि हो । अझैपनि बाह्रै महिना गाउँपालिकाको केन्द्र र जिल्लाका ८१ वडामा जानसक्ने अवस्था छैन् । भएका र नयाँ विस्तार गर्नुपर्ने सडक सुधारको योजना पनि बनेको पाइदैन । तसर्थ यो वा त्यो बाहना नगरी तत्काल सडको विस्तार, स्तरोन्नति र कालोपत्रे योजनाको प्राथमिकता तोकेर सडकमा नागरिकको पहुँच सुनिश्चिता गर्नुपर्छ ।

सम्बन्धित खवर