बन्द भयो मिसन अस्पतालमा स्वास्थ्य बीमा सेवा

पाल्पा । स्वास्थ्य बीमा बोर्ड र पाल्पाली जनप्रतिनिधिको अनुरोधलाई बेवास्ता   गर्दै युनाइटेड मिसन अस्पतालले स्थगन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तत बन्द भएको छ ।

पत्रकार सम्मेलन गरी गएको साउन २१ गते देखि स्वास्थ्य बीमा कार्यक्रम मार्फत उपलब्ध सेवा स्थगित गरेको अस्पताललाई बीमा बोर्डले सेवा प्रदान स्वास्थ्य संस्थाको सूचिबाट हटाएपछि औपचारिक रुपमा सेवा बन्द भएको हो । यसका साथै सूचिमा एक वर्ष अघिदेखि स्वास्थ्य बीमा सेवा बन्द भएको लुम्बिनी मेडिकल कलेज पनि परेको छ ।

बीमा बोर्डले सेवा उपलब्ध गराए वापतको भूक्तानी दावी गरिएको रकम समयमा नपठाएको भन्दै सेवा स्थगन गरेर घुर्की लगाएका यी सामुदायिक तथा निजी अस्पतालमा बीमा सेवा बन्द भएको हो । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको बीमा बोर्डले भदौ ८ गते प्रकाशित सूचनामा उल्लेख छ ।

पाल्पामा रहेका सरकारी स्वास्थ्य संस्थाको अवस्था नाजुक भएको र सेवा लिन ठूला अस्पतालको भर पर्नुपर्ने अवस्थामा भएको यो निर्णय गलत भएको पाल्पा क्षेत्र नं. २ का संघीय सांसद् ठाकुरप्रसाद गैरेले बताउनुभयो । बोर्डको निर्णयले सामुदायिक र निजी अस्पतालहरुलाई नसियत हुने भएपनि सहज रुपमा स्वास्थ्य बीमाबाट सेवा लिनका लागि स्वास्थ्य बीमा गरेका परिवार भने समस्या हुने संघीय सांसद् गैरेले भनाइ छ । जनताले सहज रुपमा आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा सेवा लिन पाउनु पर्ने अवस्थाको ग्यारेण्टी सरकारले गर्नुपर्ने सांसद् गैरेको जोड छ । यसका साथै जिल्लाका सरकारी अस्पताल र स्वास्थ्य चौकीको पूर्वाधार तथा सेवाको गुणस्तर सुधारका लागि सरकारसंग जोडद्धार माग गर्दै सांसद् गैरेले यस विषयमा आफ्नो तर्फबाट हुनसक्ने सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय