पाल्पा । निस्दी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरेको छ ।
अब माध्यमिक तहका प्रधानाध्यापकहरुले मासिक १ हजार ५ सय भत्ता पाउने भएका छन । आधारभूत तहका प्रधानाध्यापकले दुई थरी भत्ता पाउने छन । साविकको निम्न माध्यमिक तहका प्रधानाध्यापकले १ हजार १ सय र प्राथमिक तहका प्रधानाध्यापकहरुले ७ सयका दरले भत्ता पाउने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारले प्राथमिक तहको प्रधानाध्यापकलाई मासिक दुई सय, निम्नमाध्यमिक तहमा तीन सय र माध्यमिक तहको प्रधानाध्यापकलाई पाँच सयका दरले भत्ता उपलब्ध गराउदै आएको छ । निस्दी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ देखि थप भत्ताको व्यवस्था गरेको अध्यक्ष सारुको भनाइ छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या क्रमश घटदै गएको छ ।
विद्यालय सुधारका लागि सबैभन्दा ठुलो भूमिका प्रधानाध्यापकको हुने भएकोले विद्यालय प्रशासन सञ्चालनमा थप जिम्मेवारी बोध गराउन र प्रोत्साहनकाको लागि गाउँपालिकाले केही रकम थपको व्यवस्था गरेको अध्यक्ष सारुले बताउनुभयो । विकासको पहिलो पूर्वाधार शिक्षा भएकोले यसवर्ष गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको अध्यक्ष सारुले बताउनुभयो ।
त्यसो त निस्दीले चालू आर्थिक वर्षदेखि कक्षा आठसम्मका विद्यार्थीलाई दैनिक २० रुपैयाँको दरले दिवा खाजाको समेत व्यवस्था गरेको छ । यसैबीच विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुले प्रमुख प्रशासकीय अधिकृतसँग ५४ बुँदे र प्रधानाध्यापकले शिक्षकसँग कार्य सम्पादन करार सम्झौता गरेको छ । यस्तो खालको सम्झौताले समग्र विद्यालयलाई हित हुने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभएको छ । निस्दीमा हाल ५२ वटा सामुदायिक विद्यालय रहेका छन् ।