बिरामीको विश्वास जित्दै पाल्पा अस्पताल

तानसेन। पाल्पा जिल्ला अस्पतालले बिरामीको विश्वास जित्दै गएको छ । सरकारी अस्पताल भन्ने वितिकै राम्रो उपचार सेवा नपाइने स्वास्थ्य संस्था भन्ने सोचलाई अस्पतालले सेवामा सुधार गरेर आम नागरिक र बिरामीको मन जित्न थालेको हो । अहिले अस्पतालमा दैनिक करिब ३ सय देखि ३ सय ५० जना बिरामीले सेवा लिने गरेका छन् ।

पूरानो भौतिक संरचना र दरबन्दी अनुसारको जनशक्ति अभावका बीचमा पनि स्तरीय सेवा दिएको अस्पतालको दावी छ । पछिल्लो समय बिरामी भर्ना हुनेको संख्यामा पनि वृद्धि भएको छ । अस्पतालमा भएका १५ बेडमा पूरा बिरामी भर्ना भएको अवस्था छ । अस्पताल विकास समितिमा गुराँस आत्रेय सहितको नयाँ नेतृत्व आएसंगै अस्पतालको सेवा प्रवाहमा थप सुधार गरेको हो । दरबन्दी अनुसार जनशक्ति नहुँदा पनि आन्तरिक रुपमा व्यवस्थापन गरेर सहज रुपमा सेवा उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार आयोजना गरेको सरोकारवालासंग छलफलमा बिरामीको चाप र मागलाई मध्यनजर गरी अस्पतालमा विहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालन गरिएको अस्पतालका अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । उहाँले फार्मेसीमा प्रयाप्त औषधिका साथै नयाँ व्यवस्थापन गर्दा बिरामीलाई सहज भएको बताउनुभयो । अध्यक्ष आत्रेयले आफ्नो नेतृत्वमा अस्पताल आएपछि अस्पतालको सेवा सहित भौतिक संरचना सुधार र व्यवस्थापनमा लागि परेको बताउनुभयो । ओपिडी व्यवस्थापन तथा चिकित्सकको संख्या थप, प्रविधिमैत्री प्रयोगशाला सेवा, भर्ना बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा, रेडियोलोजिष्टलगायतका विशेषज्ञ सेवा थप तथा पहल, शौचालय निर्माण, बिरामीका लागि प्रतिक्षालय निर्माण, अक्सिजन प्लाण्टबाट अस्पतालले आम्दानी लिन सुरु गरेको अध्यक्ष आत्रेयको भनाइ छ ।

अहिले अस्पतालबाट लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालले अक्सिजन खरिद गर्ने गरेका छन् । नागरिकलाई सेवा दिनका लागि स्थानीय अस्पतालहरुसंग समन्वय गरेर सेवा उपलब्ध गराउने काम भएको छ । अस्पतालबाट थप प्रभावकारी रुपमा सेवा उपलब्ध गराउनका लागि स्तरिय नयाँ भवन निर्माण, विशेषज्ञ चिकित्सक सहितको सेवा थप, शल्यक्रिया कक्ष र प्रविधिमैत्री प्रयोगशाला आवश्यक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विवेक भण्डारीले बताउनुभयो । उहाँले अस्पतालका लागि सबै स्थानमा पुग्न सक्ने एउटा एम्बुलेन्स आवश्यक रहेको बताउनुभयो । यसका साथै भवनका लागि भैरहेका पहलहरु निश्र्कषमा पुग्न नसक्दा समस्या भएको उहाँको भनाइ छ ।

अस्पतालले गतवर्ष ९० हजार ५६ जना बिरामीलाई सेवा दिएको जनाएको छ । जसमा महिला ५१ हजार ७ सय ८६ र पुरुष ३८ हजार २ सय ७० रहेका छन् । अस्पतालले आर्थिक वर्ष २०७९/८० मा १८ हजार १ सय ७७ जनालाई प्रयोगशाला सेवा दिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भण्डारीले बताउनुभयो । यस्तै ६० हजार १ सय ५० जनालाई फार्मेसी सेवा, ४ सय ५७ जना भर्ना, २ हजार ८ सय ६८ लाई आकस्मिक सेवा, ३६ जनालाई प्रसुति सेवा उवलब्ध गराएको छ । २ सय ९८ जनालाई सुरक्षित गर्भपतन सेवा, १ हजार १ सय २८ जनालाई इसिजी सेवा, ७ सय ६९ जनालई भिडियो एक्सरे सेवा, ९ हजार ९ सय ८० जनालाई एक्सरे सेवा,३ हजार ७ सय १७ जनालाई दन्त परीक्षण सेवा दिएको तथ्यांकमा उल्लेख छ । १ हजार ७ सय ७० जनालाई आँखा परीक्षण सेवा, ५१ जनालाई एकद्धार संकट व्यवस्थापन केन्द्र मार्फत सेवा, ३ हजार् २ सय १४ जनालाई मातृशिशु क्लिनिकमार्फत सेवा र सामाजिक सेवा एकाईबाट ७ सय ८ जनालाई सेवा दिइएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भण्डारीले जानकारी दिनुभयो । जसबाट अस्पतालले बीमा मार्फतको सेवाबाट ३ करोड ६१ लाख र बीमा वाहेकका बिरामीबाट ३३ लाख आम्दानी गरेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय