एमाले पाल्पाको प्रतिनिधि छनोटका लागि परिपत्र

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाले भदौं १६ र १७ गते हुने लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहभागी प्रतिनिधि छनोटको तयारीका लागि दश स्थानीय तहलाई परिपत्र गरेको जनाएको छ ।

जिल्ला कार्यालयको साउन २७ गते बसेको बैठकले गरेको निर्णयको जानकारी सहित कार्यान्वयनका लागि परिपत्र गरिएको अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो । एमाले पाल्पाले आगामी २०८० भदौ ९ गते शनिवार एकैसाथ सबै स्थानीय तहमा प्रतिनिधि छनोट कार्य गर्ने तयारी गरेको छ ।
अध्यक्ष घिमिरेका अनुसार तोकिएको मापदण्ड अनुसार पाल्पा जिल्लाबाट ८२ जना प्रतिनिधिहरुको सहभागिता हुने छ ।

पार्टी केन्द्रबाट २०८० सालको नविकरण प्रमाणित भएको सदस्यता विवरणका आधारमा एक सय जना पार्टी सदस्य बराबर १ जना, एक सय ५० भन्दा बढी सदस्य भएको खण्डमा २ जना, २ सय ५० जना सदस्य भएमा ३ जना प्रतिनिधि चयन गर्नुपर्ने छ । यस्तै ५० भन्दा माथि शेष भएमा १ जना थप गर्दै जाने व्यवस्था गरिएको छ । यस्तै दलित समुदायको हकमा ७५ जना पार्टी सदस्य संख्या सम्म १ जना, शेष संख्या ५० प्रतिशत भन्दा धेरै भएमा थप १ जना प्रनितिधि हुनेछ । एक सय १३ भएमा २ जना हुने छ, जसमा १ जना महिला अनिर्वाय हुने कार्यालय सचिव दीपक विश्वकर्माले बताउनुभयो ।

हरेक ३ जनामा १ जना महिला अनिवार्य गरिएको छ । २ जना मात्र प्रतिनिधि भएको खण्डमा १ जना महिला अनिवार्य, ५ जना प्रतिनिधि भएमा २ जना महिला, ८ जना भएमा ३ जना महिला अनिवार्य हुनुपर्ने कार्यालय सचिव विश्वकर्माको भनाइ छ । छनोट हुने प्रतिनिधि संख्यामा ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य र न्यूनतम १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चितताका लागि सिर्जनात्मक रुपले प्रतिनिधि छनोट कार्य सक्न परिपत्र गरिएको एमाले पाल्पाले जनाएको छ ।

प्रदेश अधिबेशनका लागि तानसेनबाट सबैभन्दा बढी १५ जना प्रतिनिधि छनोट हुनेछन् । यस्तै सवैभन्दा कम तिनाउ गाउँपालिकाबाट ४ जना प्रतिनिधि छनोट हुने एमाले पाल्पाका सचिव रामजी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ९ गते शनिबार हुने प्रतिनिधि छनोटका लागि निर्वाचन समितिको जिम्मेवारी समेत तोकिएको बताउनुभयो ।

एकै दिन दश स्थानीय तहमा हुने प्रतिनिधि छनोटका लागि तीन सदस्यीय निर्वाचन समितिलाई जिम्मा लगाइएको छ । जसमा एक जना संयोजक र २ जना सदस्य तोकिएको सचिव पोखरेलले जानकारी दिनुभयो । निर्वाचन समितिका लागि तानसेनमा सन्तोष खनाल, रामपुरमा दिनेश कुमार खनाल, निस्दीमा हेम बहादुर खाम्चा, पूर्वखोलामा मेहर सिं थापा, रम्भामा खुमबहादुर पौडेल, माथागढीमा नारायण अधिकारी, बगनासकालीमा कमल तिमिल्सेना, रिब्दोकोटमा नारायण ज्ञवाली, रैनादेवी छहारामा विनोद कार्की र तिनाउ गाउँपालिकामा रामबहादुर थापालाईे संयोजकको जिम्मेवारी तोकिएको सचिव पोखरेले बताउनुभयो ।

सम्बन्धित खवर