
पाल्पा । रैनादेवीछहरा गाउँपालिका वडा नंं ७ बल्ढेङ्गगढीको बेलवासमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा पहिलो चरणमा ६ जनाको दरबन्दी कायम गरी प्रहरी खटाइएको छ ।
प्रहरी पोष्ट शुभारम्भ कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पोष्टमा कार्यरत प्रहरीहरुले जनताको अपेक्षा अनुसार काम गरी सुशासन र अमनचयनको वातावरण निर्माणमा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बल्ढेङ्गगढीको बेलवास क्षेत्र पहाडका ५ वटा जिल्ला र तराई जोड्ने महत्वपूर्ण नाकाको रुपमा विकास भइरहेकोले जनताको शान्ती सुरक्षा कायम गर्न पोष्ट स्थापना गरिएको समेत बताउनुभयो ।
पोष्ट स्थापना संगै यस क्षेत्रमा भइरहेको काठ, ढुङ्गा गिट्टी, वालुवाको अवैध चोरी निकासी रोकिने, बढ्दो सवारी दुर्घटना नियन्त्रण हुने, घरेलु हिंसामा न्यूनीकरण हुने विश्वास गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो । यसका साथै गाउँपालिकाबाट अवैध रुपमा निकासी हुने जडिबुटी कारोवार नियन्त्रण हुने, लागु पदार्थ सेवन तथा ओसार पसार नियन्त्रण हुने भएकोले गाउँपालिकाको विशेष पहल तथा जोडवलमा जनताको आवश्यकतालाई ध्यान दिएर पोष्ट स्थापना गरिएको अध्यक्ष भट्राईको भनाइ छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले प्रहरी भनेको जनताको सेवक र कानुन कार्यान्वयन गर्ने संस्था भएको जानकारी गराउनुभयो । उहाँले प्रहरीले जनताको भावना अनुसार काम गर्ने बताउनुभयो । तराई ढोरपाटन राजमार्ग क्षेत्रको मुख्य नाका क्षेत्र बल्ढेङ्गगढीको बेलवास भएकोले शान्ती सुरक्षा कायम राख्न, जनताको जिउधनको रक्षा गर्न पोष्ट स्थापना गरिएको प्रहरी उपरीक्षक शर्माको भनाइ थियो ।
कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता तथा ७ नं. का वडाध्यक्ष देवेन्द्र पुनले २०६४ साल देखि यस क्षेत्रमा प्रहरी चौकीको माग गर्दै आएकोमा ढिलै भएपनि प्रहरी पोष्ट स्थापना भएकोमा खुसी व्यक्त गर्नुभयो । सैनामैना नगरपालिका १० नं. वडा सालझण्डीका वडाध्यक्ष कृष्ण घिमिरेले रुपन्देही क्षेत्रमा अपराध गर्ने व्यक्तिहरु यस क्षेत्रमा लुकिछिपी बस्ने, लागु पदार्थको कारोवार गर्ने जस्ता गतिविधी प्रहरी पोष्ट स्थापना संगै रोकिने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी पोष्ट शुभारम्भ कार्यक्रममा नेपाली काग्रेसका हिमालकुमार कार्की, नेकपा एमालेका झपेन्द्र बहादुर रायमाझी, वडा नंं ७ का वडा सदस्य सूर्य बहादुर कार्कीलगायतले बेलवासमा भएको प्रहरी पोष्ट स्थापनाले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूती दिएको बताउनुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिनुभयो ।