तिनाउ । जनसेवा सामुदायिक विकास सहकारी संस्था तिनाउ ६ डुम्रेले आफ्नो २२ औ स्थापन दिवसको अवसरमा आँखा शिविर सम्पन्न गरेको छ ।
वडा सम्पर्क कार्यालय डुम्रेमा चलेको आँखा शिविरमा तिनाउ गाउँपालिका ६ का वडाध्यक्ष टोम बहादुर पुनले सामाजिक सेवाभावले आँखा शिविर राखेकोमा खुशी व्यक्त गनुृभयो । उहाँले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्य गर्न आग्रह गर्दै आवश्यक सहयोग वडाबाट हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आँखा शिविरमा जम्मा ४ सय ५६ जनाले ओपिडी सेवा लिएकोमा २ सय ५० जना सर्वसाधारण बिरामी तथा विभिन्न विधालयका २ सय ६ विद्यार्थीले भिजन जाँच गरेको नेत्र सहायक मनोज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा आँखा पाकेका १ सय २० जना, मोतिविन्दु भएका १२ जना तथा ३ जना मासु पलाएको बिरामी भेटिएको जानकारी दिनुभयो ।
शिविरमा पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनका नेत्र सहायक शर्मा सहित मीन बहादुर कार्की, शम्भु आचार्यले आँखा परीक्षण गर्नुभएको थियोे ।
शिबिरमा आँखा परीक्षण गराएका बिरामीलाई निशुल्क रुपमा औषधि तथा शसुल्क चस्मा वितरण गरिएको आयोजक सस्थाका अध्यक्ष टिकाराम भण्डारीले जानकारी दिनुभयो । उहाँले पछिल्लो हप्ता जिल्ला भर नै आँखा पाक्ने रोगको संक्रमण तीव्र रुपमा बढेको समयमा शिविरबाट धेरै नागरिकले सेवा लिन पाएको बताउनुभयो ।