
पाल्पा । रिब्दीकोट गाउँपालिकाको पछिल्लो नेतृत्वले ग्रामीण सडकलाई उच्च प्राथमिकता दिएर काम गरेको जनाएको छ । कृषकहरुलाई कृषि र पशुजन्य उत्पादनको सहज बजारिकरणका लागि गाउँपालिकाले ग्रामीण सडकलाई प्राथमिकता दिएर काम सुरु गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।
उहाँले गत वर्ष करिब १० करोड रुपैंया ग्रामीण सडकको स्तरोन्नतिमा खर्च गरेको बताउँदै यस वर्ष करिब १४ करोड १० लाख रुपैंयाँ विनियोजन गरेको समेत जानकारी दिनुभयो । जसमा संघ र प्रदेशको समेत बजेट समावेश रहेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष ०७९/८० मा ९० दशमलव ३४ किलोमिटर सडक स्तरोन्नति तथा मर्मतको काम गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिकाले ८ दशमलव ३४ किलोमिटर सडक ग्राभेल गरेको छ । सडक नपुगेका स्थानमा नागरिकको सहज पहुँच र कृषिजन्य उत्पादन विक्री गर्ने योजना अनुसार १२ दशमलव ७५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको गाउँपालिकाका इन्जिनियर पुरन कार्कीले जानकारी दिनुभयो । यसैगरी गाउँपालिकाले गतवर्ष शून्य दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरेको छ । त्यस्तै ४ किलोमिटर पक्की नाली निर्माण गरेको छ भने ३ किलोमिटर सडक ढलान सम्पन्न गरेको इन्जिनियर कार्कीको भनाइ छ ।
यस वर्ष शहरी तथा खानेपानी मन्त्रालय मार्फत भैरवनाथ मन्दिर मोटरबाटो, भारकोट मसुरे एकीकृत बस्ति विकास, कुँडहरे एकीकृत बस्ति विकास, कण्टिपोखरा देउराली एकीकृत बस्ति विकास, देउराली एकीकृत वस्ति विकास, नैटोला एकीकृत बस्ति विकास, पालुङ एकीकृत बस्ति विकास, दशैंटोल एकीकृत बस्ति विकास, डबका सोमहर एकीकृत बस्ति विकासका लागि सडक योजना निर्माण गरिएको कार्यपालिका सदस्य सुनिल बस्यालले बताउनुभयो । उहाँले यस्तै पूर्वाधार तथा भौतिक विकास मन्त्रालय मार्फत भैरवस्थान मसुरे भारकोट डुम्रे सडक, बगाले पँधेरा देखि हेल्थपोष्ट सडक, मसारा कृषि सडक, डबका सोमहर मोटरबाटो, भैरवस्थान मन्दिर पहुँच मार्ग, सिद्धेश्वर सर्देवा ढुस्टुङ देउराली सडक, कुँडहरटोल मोटरबाटो, सहिद स्मृति पार्क जाने मोटरबाटो, बतासे मैनादी सडक, बतासे डबका फेक बुढिकोट हुँदै रानीबगिया सडक र बतासे डबका फेक हुँदै रानीबगिया जाने सडक योजना निर्माण गरेको छ ।
गाउँपालिकाले यस मन्त्रालय मार्फत बतासेदेखि जलेश्वर पर्यटकीय क्षेत्र सम्म सडक स्तरोन्नतिका लागि २ करोड १० लाखको बहुवर्षिय योजना बनाइ खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र जाने बाटो कालोपत्रे गर्नका लागि एक करोड रुपैंया बजेट विनियोजन गरिएको कार्यपालिका सदस्य बस्यालको भनाइ छ । सबैटोल र वडामा सडकको पहुँच नहुँदा नागरिकलाई समस्या भएको वडा नं. ७ पालु· मैनादीका वडाध्यक्ष दान बहादुर कुँवरले बताउनुभयो । उहाँले अहिले प्राथमिकताका साथ ग्रामीण सडक स्तरोन्नति गरेर नियमित गाडी चल्ने बनाउने योजना अनुसार काम भएको बताउनुभयो ।
गाउँपालिकाले बाह्रै महिना सबै वडामा गाडी चल्ने अवस्था तयार भएको खण्डमा नागरिकलाई सुविधा हुने वडा नं. ७ का स्थानीय भीम बहादुर ठडराईले बताउनुभयो । उहाँले नयाँ सडकको ट्रयाक खोल्दा मात्रै पनि गत वर्ष सुन्तला, टमाटर जस्ता कृषि उपज विक्री गर्न सहज भएको सुनाउनुभयो ।