
तानसेन । पाल्पामा धान खेतीमा विभिन्न रोग तथा गवारो किराको प्रकोप देखिन थालेको छ । कृषकले लगाएको धान खेतीमा गवारो किराको प्रकोप देखिन थालेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
ज्ञान केन्द्र पाल्पाका अनुसार जिल्लाको रामपुर फाँटमा गवारो किराको प्रकोप देखिएको छ भने तानसेनको माडी फाँटमा खैरो थोप्ले रोग, तानसेन ८ जरेपिपलका खेतहरुमा ब्लास्ट, निस्दी र रैनादेवी छहरा गाउँपालिकामा गवारो र खैरो थोप्ले रोग देखिएको ज्ञान केन्द्र पाल्पाका बाली संरक्षण अधिकृत मिलन गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार बगनासकाली गाउँपालिकाका विभिन्न स्थानहरुमा फेंद कुहिने रोग समेत देखा परेको छ ।
बाली संरक्षण अधिकृत गैरेले समस्या पहिलो चरणमै भएकाले किसानलाई धानका विरुवा डुब्नेगरी पानी लगाउन र विषादी हाल्नेबारे सल्लाह दिइएको बताउनुभयो । उँहाका अनुसार ब्लास्ट देखिएको ठाउँमा पानी जमाई राख्ने, आली टालेर ट्राईसाइक्लाजोल ७५ प्रतिशत डब्लु पि विषादी करिब शून्य दशमलव ७५ ग्राम प्रति लिटर पानीका दरले स्प्रे गर्ने, खैरो थोप्ले रोग लाई प्रोपिनेब ७० प्रतिशत डब्लु पि विषादी ३ ग्राम÷ लिटर पानीका दरले स्प्रे गर्ने, गवारो बढी हुन थालेमा ५ प्रतिशत भन्दा बढी विषादी फिप्रोनिल ०.३ प्रतिशत जिआर विषादी एक केजी रोपनिका दरले आली टालेर छिपछीप पानी भएको माटोमा मिलाउने र ६ दिन सम्म पानी बगेर जान नदिन का लागि कृषकहरुलाई सल्लाह दिइएको जानकारी दिनुभयो ।
पाल्पामा कुल ५७ हजार एक सय ७२ हेक्टर खेतीयोग्य जमिन मध्य आठ हजार दुइ सय ६ हेक्टर क्षेत्रफलमा धान खेती हुनेगरेको छ । यो वर्ष जिल्लामा सात हजार तिन सय ८५ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो ।