पाल्पा । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले विश्व मानवीय सहायता दिवस २०२३ का अवसरमा व्यक्तित्व सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीका निवर्तमान सभापति बुद्धि प्रसाद शर्मा, युनाइटेड मिसन अस्पताल, पाल्पाका कार्यकारी निर्देशक डाक्टर रचेल कारख र शसस्त्र प्रहरी बलका प्रहरी निरिक्षक उमेश ढकाललाई नेपालमा २०७२ सालको आएको भुकम्प, कोभिड १९ लगायतका विपद्मा मानवीय सहायताको क्षेत्रमा काम गरेवापत संघले सम्मान गरेको हो । उहाँहरुलाई पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाल बास्तोला र संघका अध्यक्ष शुशिलराज शाक्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
दिवसका अवसरमा विपद् तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको हो । यसका साथै सोही अवसरमा अन्तरक्रिया समेत गरिएको नेपाल परिवार नियोजन संघ पाल्पाले जनाएको छ । १९ अगष्ट २००३ मा इराकको बगदादमा २२ जनाको हत्या भएपछि यो दिवस मनाउन थालिएको संघका शाखा प्रमुख सोवाकान्त न्यौपानेले बताउनुभयो ।
सम्मानका कार्यक्रमले विपद् न्यूनीकरण तथा विपद्पछि राहत र उद्दारका क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई हौसला प्रदान गर्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनुभयो । उहाँले विपद्का बेला जुनसुकै मानिसले विनासर्त अत्यावश्यक सहयोग पाउनुपर्ने र त्यसका लागि हामी सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले विपद् र महामारी कुन समयमा आउँछ भन्ने थाहा नहुँने भएकोले सधै तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । उहाँले आइपर्ने विपद्को सामना गर्न सबै मानिसको सहयोग भए सहज हुने भएकोले मानवीय भावका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, संघका कोषाध्यक्ष माधव प्रसाद अर्यालले लामो समय मानवीय सहायताको क्षेत्रमा काम गरेका अग्रज र युवालाई संस्थाले सम्मान गरेकोमा खुसी व्यक्त गदै सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्नुभयो ।