वैदेशिक अध्ययनका लागि तानसेनमा अनुशिक्षण

पाल्पा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अनुशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । ग्लोबल अपरच्यूनिटी नेपालले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई मार्गनिर्देशन गर्ने उद्देश्यले अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

देशका ५ सय भन्दा बढी कलेज संग सहकार्य गरेर विदेश जान चाहने विद्यार्थीका लागि मार्गनिर्देशन गर्ने काम गरिरहेको ग्लोबल अपरच्यूनिटी नेपालका कार्यकारी निर्देशक सुन्दर चालिसेले जानकारी दिनुभयो । इच्छुक विद्यार्थीहरुका लागि अध्ययन गर्न विदेश जाँदा लाग्ने आर्थिक खर्च, जिपीए, आवेदन दिँदा चाहिने आवश्यक कागजात, आईएलटिएस पोईण्ट, पारिवारिक आम्दानी, कागजी प्रक्रियालगायतका विषयमा कार्यकारी निर्देशक चालिसेले सहजीकरण गर्नुभएको थियो । उहाँले विदेश अध्ययन गर्न जाँदा कम खर्च लाग्ने सहर, कम आपराधिक गतिविधी हुने स्थानका बारेमा समेत विद्यार्थीहरु पहिले नै जानकार हुनुपर्नेमा जोड दिनुभयो ।

पाल्पामा सहकार्य गरेको संस्था क्रियटीभ कम्प्यूटर इन्स्टिच्यूटका प्रमुख अर्जुन घिमिरेले विदेश गइसकेपछि अध्ययन गर्दा ध्यान दिनुपर्ने कुराहरु, विदेशमा अध्ययन गरेर फर्केपछि नेपालमा त्यसको सम्भावना लगायतका विषयमा पहिले नै जानकार भएर जानु राम्रो हुने भएकाले पाल्पामा अनुशिक्षण कार्यक्रम गरिएको बताउनुभयो । प्रमुख घिमिरेले अष्ट्रेलिया, यूके, क्यानडा, यूएसलगायतका देशमा विद्यार्थीको आकर्षण बढी भएको भन्दै त्यहाँ जान चाहने विद्यार्थी र अभिभावकहरुलाई मार्गनिर्देशन गर्ने काम आफूहरूले गर्दै आएको जानकारी दिनुभयो ।

अनुशिक्षण कार्यक्रममा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय