
तानसेन । पाल्पाका पहिलो पटक ७ खाद्यान्न पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पा सहितको संयुक्त अनुगमन टोलीले आइतबार गरेको बजार क्षेत्रका ९ वटा खाद्यान्न पसलहरुमध्य ७ वटा कारबाहीमा परेका हुन् ।
पछिल्लो समय भारतले कम गुणस्तरका चामल निर्यातमा लगाएको रोकले पाल्पाली बजारमा परेको प्रभाव बारे बुझ्न गरिएको अनुगमनमा अग्रहरी गल्ला स्टोर्स, राधे राधे स्टोर्स टक्सारटोल, ज्ञवाली स्टोर्स, सगुन स्टोर्स सिल्खानटोल, भगवती खाद्य स्टोर्स, जैशवाल गल्ला भण्डार र थापा सप्लायर्स, बिशालबजारलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुभयो ।
उहाँका अनुसार मापडण्ड बिपरित कारोवार गरेका खाद्यान्न व्यापारीहरुलाई कारवाही गरिएको हो । उनीहरुलाई पहिलो चरणको कारवाही स्वरुप पाँच हजारका दरले जरिवाना गर्नुका साथै व्यवसायीलाई सुझब सहित मापडण्ड पालना गर्न निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा पसलहरुले प्याकेजिङ्ग नभएको चामल र सामान बेचेको, उत्पादन मिति र उपभोग्य मिति नखुलेको सामान बेचेको, खाद्यबस्तु खुला रुपमा बेचेको, तथा तौल समेत कम पाइएकोे खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अनुगमनमा फेला परेका उपभोग्य मिति सकिएका करिव ४ हजार ५ सय बराबर मूल्यका दश प्रकारका खाद्यबस्तु जफतगरी नष्ट गरिएको समेत बताउनुभयो ।









