विद्युत प्रसारण लाइनका लागि पाल्पामा जग्गा अधिग्रहण प्रक्रिया सुरु

अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा सञ्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि पाल्पामा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले बुघबार सूचना जारी गर्दै अधिग्रहण गरिने जग्गाको विवरण सार्वजनिक गरेको छ । सूचना अनुसार निस्दी गाउँपालिकाका ५, ६ र ७ नम्बर वडा तथा रामपुर नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा पर्ने जग्गा अधिग्रहणमा पर्नेछन् । ती जग्गाहरु बुधबारदेखि रोक्का भएका छन् ।

सार्वजनिक विवरणमा जग्गा, घरटहरासहित रुखविरुवा समेतको स्वामित्व फरक परेको भए वा छुटेको भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी गर्न सकिने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । साथै, जग्गा अधिग्रहण गर्नु नपर्ने भए पनि कारणसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिने छ । तोकिएको म्याद भित्र निवेदन नदिई म्याद गुजारेमा कानुन बमोजिम हुने सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय