
पाल्पा । निस्दी गाउँपालिका मित्याल पाल्पाले गत आर्थिक वर्ष २०७९/०८० मा कार्य सम्पादनको वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले गत आर्थिक वर्षमा सम्पादन भएका योजना तथा कार्यक्रम र सेवाको प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभयो । उहाँले प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७९/०८० मा वित्तीय प्रगति विवरण अन्तर्गत चालू तर्फ ८३ दशमलव ९ प्रतिशत र पूँजिगत तर्फ ६४ दशमलव ९४ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।
यसका साथै आर्थिक विकास तर्फ ७८ दशमलव ९८ प्रतिशत, सामाजिक विकास तर्फ ८६ दशमलव ५५ प्रतिशत, पूर्वाधार विकास तर्फ ५४ दशमलव ७४ प्रतिशत, सुशासन तर्फ ७९.३१ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ७० दशमलव ०९ प्रतिशत गरी कुल ७५ दशमलव ५७ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत दयालले बताउनुभयो । साथै चालु आर्थिक वर्ष २०८०/०८१ मा चालुतर्फ ४५ करोड २ लाख ५५ हजार र पूँजीगत तर्फ २४ करोड २ लाख २७ हजार गरी कुल ६९ करोड ४ लाख ८२ हजार बराबरको बजेट विनियोजन भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, भौतिक पूर्वाधार, बिजुली, पर्यटन, कृषि, विपल् व्यवस्थापनलगायतका विषयमा गम्भीर भएर ठोस योजना ल्याृने पर्ने साथै यस क्षेत्रमा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए । यसका साथै सहभागीहरुले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, युवा स्वरोजगार सिर्जना गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछाने, नेपाली कांग्रेस निस्दी गाउँ कार्यसमितिका सभापति पूर्ण बहादुर खाँणले निस्दीको विकासमा राजनीतिक दल बाधक नबन्ने र सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहभागीहरुले उठाएका जिज्ञासाको जवाफ विषयगत शाखाका संयोजक, प्रमुख प्रशासकीय अधिकृतलगायतले दिनुभएको थियो । उहाँहरुले काम गर्दै जाँदा हुनसक्ने कमजोरीका विषयमा तत्काल प्रश्न गर्न र निस्दीको विकासमा हातेमालो गर्न आग्रह समेत गर्नुभयो ।
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीको विकासमा चासो दिएर कार्यक्रममा सहभागी हुने, जिज्ञासा तथा सुझाव व्यक्त गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जनताले प्रत्यक्ष महशुस गर्नेगरी विकासका काम गरेको बताउदै यसमा सकारात्मक सहयोगको अपेक्षा राखेको बताउनुभयो । गाउँपालिका अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसायमूलक र उत्पादनमूखी काम गर्ने योजना रहेकोले सरोकारवाला सबैलाई सुझावका लागि अनुरोध समेत गर्नुभयो ।
गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको कार्यक्रममा पत्रकारद्धय माधवप्रसाद अर्याल र नारायण न्यौपानेले सहजीकरण गर्नुभएको थियो । गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीको स्वागत तथा गाउँपालिका अध्यक्ष सारुको अध्यक्षतामा कार्यक्रम भएको हो ।