कक्षा १२ को जिल्लास्तरको नतिजा थाहा पाउन १५ दिन लाग्ने

पाल्पा । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा जिल्ला स्तरको नतिजा थाहा पाउन १५ दिन समय लाग्ने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीको समग्र रेकर्ड जिल्लाका कुनै निकायमा नभएका कारण समग्र जिल्लाको नतिजा थाहा पाउन समय लाग्ने भएको हो । परीक्षामा सहभागीहरुको परीक्षा फारम अनलाइन भर्ने गरिन्छ । परीक्षार्थीको रेकर्ड भरेर सबै विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यलय बुटवलमा बुझाउने व्यवस्थाका कारण तत्काल जिल्लाको नतिजा बारे थाहा नहुने शिक्षा विकास तथा समन्वय एकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयहरुले आफ्नो विद्यालयको नतिजा थाहा पाउने भएपनि समग्र नतिजाको अवस्था थाहा पाउन समय लाग्ने बताउनुभयो ।

पाल्पाबाट गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ हजार ९ सय १५ जना र ग्रेड वद्धितर्फ १ हजार २ जना ३५ जना गरी कुल पाँच हजार १ सय ५० जना परीक्षामा सहभागी भएको थिए ।

गत वर्ष जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल नभने पनि एनजी आएकाहरुले माथिल्लो तहको अध्ययन गर्न पाउने छैनन् । उनीहरुले पुन ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । बोर्डले २ विषयसम्म ननग्रेड हुनेका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

पाल्पा जिल्लामा कक्षा १२ सम्म अध्यापन हुने ८३ विद्यालयका परीक्षामा सहभागी विद्यार्थीलाई परीक्षा समन्वय समितिले २० वटा परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय