जलदेवीस्थान मन्दिरको जीर्णोद्धार

पाल्पा । निस्दी गाउँपालिका वडा नं. २ सुकेकोट स्थित झण्डै ९० वर्ष पुरानो जलदेवीस्थान मन्दिरको जीर्णोद्धार गरिएको छ ।

जीर्ण अवस्थामा रहेको मन्दिरको उद्धार गरिएको हो ।वि.सं. १९९०/०९५ को समयमा निर्माण भएको मन्दिरको पर्खालहरु भत्किएर जीर्ण अवस्थामा रहेको थियो ।
समुदायका जेष्ठ नागरिक दिल बहादुर रानाका अनुसार आफ्नै बारीमा भेटिएको देवीको शिला तत्कालीन समयमा देवीस्थान निर्माण गरी भित्र्याईएको थियो । त्यस पश्चात स्थानीयले भाकल गरी देविस्थानमा पूजा गर्दै आएका छन् । उहाँले भन्नुभयो, “म सानै हुँदा देवीस्थानमा बाजा बजाएर गाउँले सबै मिलेर देवीलाई भित्र्याईएको हो । भाकल गरेमा इच्छा पुरा हुने विश्वास छ । पहिले गाउँलेले मात्र पुजा गर्ने भए पनि अहिले अन्य स्थान बाट पनि भाकल गरेर पूजा गर्न आउने गरेका छन् ।”

जीर्ण अवस्थामा रहेको देवीस्थान निर्माणको लागि आर्थिक वर्ष २०७९÷०८० मा निस्दी गाउँपालिका बाट ५ लाख विनियोजन भएको थियो । स्थानीयको जनश्रमदान ५६ हजार सहित ६ लाख ७० हजार बढीको लागतमा जिर्णउद्धार सम्पन्न भएको उहाँले बताउनुभयो । उहाँले निर्माण सम्पन्न हुँदा सम्म अझै १ लाख १५ हजार रकम अझै अपुग भएको बताउनुभयो ।

निस्दी गाउँपालिका वडा नं. २ का वडा सदस्य भुम बहादुर रानाले गाउँपालिकाको आर्थिक सहयोग संगै स्थानीयको सक्रियतामा देवीस्थान जिर्ण उद्धार गरीएको बताउनुभयो । वडा तथा गाउँपालिकाले पुराना सम्पदाको संरक्षणमा आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभयो । मन्दिरमा तिथी परेका दिन पूजा हुँदै आएको छ ।

सम्बन्धित खवर