पाल्पा । बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष ०७९/ ०८० को वार्षिक प्रगति समीक्षा बैठक सम्पन भएको छ । प्रगति समीक्षामा गाउँपालिकाका विषयगत शाखा प्रमुखहरुले गत आर्थिक वर्षमा सम्पादन गरेका सम्पूर्ण कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
गाउँपालिकाले गत आर्थिक वर्षमा चार सय ५ वटा योजनाहरु सञ्चालन गरेको जनाएको छ । साथै ५ किलोमिटर सडक कालोपत्र गरेको प्रगति सार्वजनिक गरेको छ । यसका साथै नागरिकको सहजतालाई मध्यनजर गरी सामाजिक सुरक्ष भत्ता वडा तहबाट वितरण गरिएको साथै जिल्ला मै पहिलो प्रयोगशाला सेन्टरको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी गराउन्ुभयो । उहाँले गत आर्थिक वर्षमा गाउँपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी प्राप्त असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएर कामको प्रभावकारीता बढाउने बताउनुभयो ।
आर्थिक प्रशासन शाखाका प्रमुख कोशलराज पौडेलले आर्थिक वर्ष २०७९/८० मा ७७ लाख आन्तरिक आम्दानी भएको जानकारी गराउनुभयो । उहाँले वित्तीय तर्फ ९१ दशमलव १७ प्रतिशत प्रगति भएको जानकारी गराउनुभयो । बैठकमा गाउँपालिकामा भएको योजनाहरूको छनोट र सञ्चालन, समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको बलियो बनाउन्दै लैजाने विषयमा छलफल भएको थियो । यसका साथै आन्तरिक आम्दानीमा वृद्धि, करको दायरा विस्तारका साथै गाउँपालिकाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने बताइएको छ ।
समीक्षा बैठकमा गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले गत वर्षको तुलनामा व्यवस्थित र परिणाम देखिने काम भएको उल्लेख गर्दै आन्तरिक आम्दानीको दायरा बढाउन स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरिने बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले एक वर्षमा गरिएको कामको आधारमा थप काम गर्ने प्रेरणा मिलेको बताउदै योजना समयमै सम्पन गर्ने सहयोग गर्ने उपभोक्तहरु र निर्माण व्यवसायीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले प्रगति समीक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजनाबद्ध ढंगले चालु आर्थिक वर्षका गतिविधीहरू अगाडि बढाएर काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।
समीक्षा बैठकमा वडा सदस्य कृष्ण भुसाल, यमलाल तिमिल्सिना, बगनासकाली पत्रकार समूहका उपाध्यक्ष नेत्रप्रसाद गैरेलगायतले बोल्दै हाम्रो बगनासकाली, राम्रो बगनासकाली बनाउनु सबैको अहम भूमिका हुने कुरामा जोड दिनुभएको थियो ।
समीक्षा बैठकका अवसरमा एसइइ परीक्षामा उत्कृष्ट ५ जना विद्यार्थीलाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो । भने उत्कृष्ट कर्मचारीको रुपमा काम गर्ने ७ जना कर्मचारीहरुलाइ समेत दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।