कच्ची सडक जस्तै राजमार्ग

पाल्पा । पाल्पाका स्थानीय तहहरूले जथाभाबी खनेका ग्रामीण सडकका कारण जिल्लाका मुख्य सडकका रूपमा रहेको सिद्धार्थ राजमार्गसहितका सहायक राजमार्गमा क्षति पुग्दा यातायात सेवा प्रभावित हुने स्थिति पैदा भएको छ।

सिद्धार्थ राजमार्गको चर्चरे, हिउँदे खोला, माथिल्लो डुम्रे, आर्यभन्ज्याङ, पिपलडाँडा, सेरालगायतका स्थानमा सडक बिग्रिएका छन्। स्थानीय सरकारको लगानीमा सिद्धार्थ राजमार्गको माथिल्लो भेग भएर खनिएको सडकका कारण राजमार्गमा पहिरो खस्ने र सडकमा ठुलो क्षति पुग्ने गरेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।

स्थानीय तहले बिनाअध्ययन मनपरी ढङ्गले सडकमाथिबाट खनेको ग्रामीण सडकबाट खसेको पहिरो, भेल, गेग्य्र्रान तथा बाढीका कारण राजमार्ग बिग्रिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख पवित्रमणि निरौलाले बताउनुभयो ।

स्थानीय तहहरूले जथाभाबी खनेका बाटोका कारण राजमार्ग र सहायक मार्गहरू कच्ची सडक जस्तै बनेको सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले बताउनुभयो। स्थानीय तहले डोजर लगाएर बनाएका सडकले समस्या मात्र निम्त्याएको उहाँले बताउनुभयो।

स्थानीय तहका जनप्रतिनिधिले भने जनताका आवश्यकता र मागका आधारमा ग्रामीण सडक बनाउन आफूहरू बाध्य भएको बताएका छन्।
सिद्धार्थ राजमार्गले तिनाउ गाउँपालिका, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका र रम्भा गाउँपालिकाको भूभागले छुने गरेको छ । जिल्लाको मुख्य राजमार्ग मात्र होइन, यहाँका सहायक राजमार्गका रूपमा रहेका तानसेन–हार्थोक सडक, बाँसटारी–झडेवा सडक, आर्यभन्ज्याङ–रामपुर सडकको अवस्था पनि उस्तै छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय