पाल्पामा रातो च्याउको व्यवसायिक उत्पादन

तानसेन । पाल्पामा व्यवसायिक रुपमा गानार्डार्मा अर्थात रातो च्याउको खेती हुँदै आएको छ । औषधीय गुणले भरिएको रातो च्याउको उद्योग नै स्थापना गरेर च्याउको धुलो उत्पादन गरिदै आएको छ ।

विदेशमा समेत निर्यात गरिँदै आएको रातो च्याउको धुलो अहिले किलोको पाँच हजारदेखि २० हजार सम्ममा विक्री हुने गरेको छ । तानसेन नगरपालिका वडा नंं. ६ जरेपिपलका केशब कार्कीले भैरब च्याउ उद्योग नै संचालन गरेर विगत पाँच वर्षदेखि रातो च्याउको उत्पादन, प्रशोधन, र धुलो बनाएर विक्री वितरण गर्दै आउनु भएको छ ।

दाउरा र स्याउला लाई मेशिनमा पेलेर बनाइएको धुलोलाई पानीसँग मोलेर प्लाष्टिकमा प्याकेजिङ गरिने कार्कीले बताउनुभयो । उँहाका अनुसार प्याकेजिङ् गरिएको धुलोलाई भट्टीमा बाफको माध्यमबाट पकाईन्छ । यसरी पकाईएको धुलोमा च्याउको वीउ राखेर वातावरण अनुकुलित १८ डिग्री सेल्सियस तापक्रम रहने कोठामा ४५ दिनसम्म राखिन्छ । च्याउ फल्न सुरु गरेपछि प्रयाप्त सूर्यको प्रकाश पर्ने टनेलमा सारिन्छ । फलेको च्याउलाई सुकाईन्छ र प्रशोधन गरेर उद्योगबाट च्याउको धुलो उत्पादन गर्ने विधि रहेको छ ।

यसरी उत्पादन गरेको च्याउको धुलोको माग अहिले स्वदेशमा मात्र नभएर विदेशमा समेत हुँदै आएको छ । उद्योगले विभिन्न ठाउँमा पुगेर च्याउ संकलन गर्ने , किसानले उत्पादन गरेको च्याउ खरिद गर्दै प्रशोधन र विक्रि वितरण समेत गर्दै आएको छ । तराईमा फलेको रातो च्याउको धुलोलाई पाँच हजार, पहाडको १० हजार र हिमालमा फलेको रातो च्याउको धुलोलाई २० हजारसम्ममा विक्री हुने गरेको भैरव च्याउ उद्योगका बजार प्रबन्धक नारायण तिमिल्सिनाले बताउनुभयो ।

रातो च्याउबाट राम्रो आम्दानीसँगै माग बढ्न थाले पछि पाल्पाको मदनपोखराका कृषकहरुले समेत व्यवसायिक रुपमा खेती सुरु गरेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय