
पाल्पा । एक वर्ष नपुग्दै यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारको सरुवा भएको छ । आफ्नो सरुवाप्रति प्रमुख सुनारले गुनासो गर्नुभएको छ । प्रमुख सुनारलाई पाल्पा यातायात व्यवस्था सेवा कार्यालयबाट प्रदेश लोक सेवा आयोगमा सरुवा गरिएको छ । सरुवाको निर्णय आएपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर विमती जाहेर गर्नुभएको छ ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साउन २१ गते गरेको नेपाल प्रशासन सेवा ,सामान्य प्रशासन समूहका कर्मचारीहरुलाई सरुवा र कामकाजमा खटाउने निर्णय गरेको थियो ।
उहाँले पहिले २,३ महिना कार्यालय प्रमुख विहीन हुँदा कोही आउन नमानेको समयमा जिम्मेवारी लिएर २०७९ भदौं १५ गतेदेखि काम सुरु गरेको स्मरण गदैँ आफू आएपछि सेवाग्राहीले भोगेका हरेक समस्यालाई कसरी कम गर्न सकिन्छ भनेर दिनरात काम गरेको बताउनुभएको छ । प्रमुख सुनारले सेवाग्राहीको सहजताका लागि कार्यालयमै बैक काउन्टर स्थापनादेखि ट्रयाल सेन्टरको निर्माण सम्पन्न गर्नुका साथै सुबिधा सम्पन्न घरबाट सेवाग्राही मैत्री भवनबाट सेवा दिने अवस्था बनाएको बताउनुभयो ।
प्रमुख सुनारले पटक पटक ताकेता र मेहनतबाट पाल्पाबाटै लाइसेन्स नविकरण, नयाँ सवारी चालक अनुमती पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरी जनतालाई सहज रुपमा सेवा उपलब्ध गराएको बताउनुभयो । उहाँले छोटो समयमा यातायात कार्यालयको मुहार परिर्वतन गर्नुका साथै यातायात कार्यालयमा घुस चल्दैन है भन्ने विश्वास स्थापित गर्न सफल भएको दावी समेत गर्नुभयो ।
प्रमुख सुनारले जनताको सुविधाका लागि छोटो समयमा गरेको राम्रो काम वापत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक वर्ष समय नपुग्दै इच्छा विपरित सरूवा गरेको बताउनुभयो । घरमा श्रीमती सुत्केरी हुँदा समेत सुत्केरी स्याहार विदा नलिई जनताको सेवामा खटेकोले पुरस्कार स्वरूप जबरजस्ती सरूवा गरिएको उनको भनाइ छ ।
प्रमुख सुनारले मुख्यमन्त्रीको कार्यालयलाई कस्तो कर्मचारी चाहिएको हो ? एक महिना पनि नपुगेको बच्चा बोकेर सरूवा हुनु पर्ने मेरो गल्ति के हो ? कसैले समय पुगेर सरूवा माग्दा पनि नदिने तर मलाई चाही एक वर्ष नपुग्दै सरूवा गर्ने ? यहि हो इमानदार कर्मचारीलाई गर्ने व्यवहार ? कि दलित कार्यालय प्रमुख भएको देख्नै सक्दैन र प्रदेश सरकार भनेर समेत प्रश्न गर्नुभएको छ ।