दक्षिण एसियाली प्रतियोगितामा पाल्पालाई ६ पदक

पाल्पा । भारतको हैदराबादमा सम्पन्न भएको सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा पाल्पाले ६ पदक जितेको छ ।

प्रतियोगितामा तानसेन ७ का एञ्जल रेग्मीले एक स्वर्ण र २ कास्य पदक प्राप्त गरेका हुन । यस्तै उनका दाई रजन रेग्मीले एक रजत र २ कास्य पदक जित्न सफल भएको पाल्पा आइटिएफ तेक्वान्दो संघका प्रशिक्षक कृष्ण थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालसहित भारत, बङलादेश, युएई, श्रीलंका र अफगानिस्तानका खेलाडीहरुको सहभगिता रहेको थियो । प्रतियोगितामा ३५ केजी देख ८० केजी माथि सम्मका खेलाडीलाई विभिन्न समूहमा विभाजन गरी खेल खेलाइएको थियो । खेलमा विभिन्न उमेर समूहको स्पाईरिङ्ग, प्याटर्न, ग्रुप स्पाईरिङ्ग, ग्रुप प्याटर्नमा प्रतिस्पर्धा भएको खेलाडी रेग्मीले बताउनुभयो । प्रतियोगितामा पाल्पाबाट एकै घरका २ जना खेलाडी सहभागी भएका थिए ।

पदक प्राप्त गर्ने खेलाडीहरुलाई तानसेनमा एक कार्यक्रम आयोजना गरी अनुभव आदन प्रदान तथा सम्मान गरिएको छ । पाल्पा आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रमामा पदक जित्ने खेलाडीलाई खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधवप्रसाद अर्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, पूर्व अध्यक्ष गोविन्द भट्राईले सम्मान गर्नुभयो ।

खेलाडीले स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको प्रतियोगिता खेल्दाको अनुभवका साथै आफ्नो भविष्यको लक्ष्यका विषयमा जानकारी गराउँदै आफूहरुलाई घरपरिवार वाहेक अन्य क्षेत्रबाट सहयोग नमिलेको बताए । उनीहरुले आफूहरु देशका लागि खेल्न भएकोले खेलाडीलाई आवश्यक सहयोग गर्ने वातावरण हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले प्रतियोगितामा विभिन्न पदक जित्न सफल खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले खेलाडीको भविष्य सुनिश्चित हुनेगरी राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

संघका प्रमुख सल्लाहकार तथा पत्रकार देव पचभैयाले तेक्वान्दोले शरीरलाई स्वस्थ राख्नुका साथै सुरक्षित महशुस गराउने भएकोले आफ्ना छोराछोरीलाई यस खेलमा सहभागी गराउँदा राम्रो हुने बताउनुभयो ।

अहिले पाल्पामा तेक्वान्दो खेलको प्रशिक्षण १२ वटा स्थानमा सञ्चालनमा भैरहेको प्रशिक्षक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय अभिभावकहरुले मोवाइलमा व्यस्त रहने छोराछोरीहरुलाई स्वस्थ बनाउनका साथै निगरानीमा राख्न पनि तेक्वान्दो खेलमा सहभागी गराउने गरेको बताउनुभयो । जसले गर्दा छोराछोरीहरु सानै उमेरदेखि आत्मविश्वासी बन्ने गरेको प्रशिक्षक थापाको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय