पाल्पामा फैलियो आँखा पाक्ने रोग

पाल्पा । पाल्पामा आँखा पाक्ने रोगको सङ्क्रमण दैनिक रुपमा बढेको छ । पछिल्लो दुई साता यता जिल्लाका सबैजसो स्थानीय तहमा यो रोगका संक्रमित बढेका हुन् । जिल्ला सदरमुकाम तानसेन र रामपुरसंगै जिल्लाभर यो रोगका संक्रमित बढेको चिकित्सकहरुले बताएका छन् ।

अहिले पाल्पाको तानसेनमा रहेको लायन्स लाकौल आँखा अस्पताल, पाल्पा अस्पताल, रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्र तथा अन्य निजी क्लिनिकमासमेत दैनिक आँखाका बिरामी बढेका छन् । पछिल्ला दिनहरुमा संक्रमित बिरामीको संख्या बढेपछि पाल्पा लायन्स लाकौल आँखा अस्पतालले छुट्टै (रेड आई क्लिनिक) क्लिनिकबाट बिरामीको परीक्षण र उपचार गर्न सुरु गरेको छ ।

आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढेपछि गत बिहीबारदेखि हालसम्म झन्डै पाँचसय बिरामीको उपचार गरिएको अस्पतालका सूचना अधिकारी जीवनाथ गैरेले जानकारी दिनुभयो । सेवा सुरु गरेपछि दैनिक सय जनाका दरले बिरामी उपचार गराउन पुगेका छन् । सूचना अधिकारी गैरेका अनुसार क्लिनिकबाट गत बिहीवारदेखि दैनिक सयजना बढी बिरामीले सेवा लिएका छन् । संक्रमित हुनेमा सबै उमेर समूहका मानिसहरु रहेपनि स्कूले विद्यार्थीहरु धेरै संक्रमित रहेको सूचना अधिकारी गैरेले बताउनुभयो ।

तानसेनको विभिन्न विद्यालयबाट दैनिक रुपमा संक्रमित विद्यार्थी उपचारका लागि अस्पतालमा आएको सूचना अधिकारी गैरेको भनाइ छ । यता पाल्पा अस्पतालमा पनि दैनिक रुपमा आँखाका बिरामी बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट विवेक भण्डारीले बताउनुभयो । उहाँका अनुसार दैनिक उपचार गर्न आउने बिरामी मध्ये ४० प्रतिशत बिरामीमा आँखा पाक्ने रोगको संक्रमण देखिएको छ । पाल्पा अस्पतालमा दैनिक १० जना बढी बिरामीमा यो रोगको संक्रमण देखिएको मेसु भण्डारीले बताउनुभयो ।

यस्तै रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्रमा पनि दैनिक रुपमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । यस्ता रोगका बिरामीहरु बढेको र हाल दैनिक करिव ४० जनाको दरले आँखा पाक्ने रोगका बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । यो रोगको संक्रमणबाट आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा आउने, परेला सुन्निने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने जस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ ।

यस्तो रोगको संक्रमण आँखा बाट निस्किने आँसु तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले आँखामा पुग्दा हुने भएकोले सङ्क्रमित व्यक्तिको सम्पर्कमा नरहने तथा नियमित सरसफाई र साबुनपानीले हात धुने जस्ता उपाए अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

सम्बन्धित खवर