
तानसेन ।पाल्पामा लम्पी स्किन संक्रमणबाट तीन सय ३० गाइगोरु मरेका छन् भने अहिलेसम्म करिब ७ हजार पशु संक्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । यो रोग पाल्पाका दश वटै स्थानीय तहमा फैलिएको छ । सबैभन्दा धेरै पूर्वखोला गाउँपालिकामा संक्रमण देखिएको छ । सबैभन्दा धेरै पशु भने बगनासकाली गाउँपालिकामा मरेको विज्ञ केन्द्रले जनाएको छ ।
पूर्वखोला गाउँपालिकामा अहिले सम्म एक हजार ३ सय ३६, रिब्दिकोट गाउँपालिकामा आठ सय ४०, बगनासकाली गाउँपालिकामा आठ सय ४, रैनादेवी छहरा गाउँपालिकामा ८ सय, माथागढी गाउँपालिकामा सात सय पशु चौपायामा संक्रमण पुष्टी भएको छ । यस्तै निस्दी गाउँपालिकामा ६ सय ५०, रम्भा गाउँपालिकामा एक सय ५७, तिनाउ गाउँपालिकामा पाँच सय ७, तानसेन नगरपालिकामा पाँच सय २५, रामपुर नगरपालिकामा दुई सय ६० वटा पशुमा संक्रमण देखिएको विज्ञ केन्द्रका डाक्टर नविन बस्यालले जानकारी दिनुभयो ।
अहिलेसम्मको तथ्यांक हेर्दा सबैभन्दा धेरै बगनासकाली गाउँपालिकामा ७५ वटा पशु मरेका छन् । यस्तै पूर्वखोला गाउँपालिकामा६८,तानसेन नगरपालिकामा ४७, रैनादेवी छहरा गाउँपालिकामा ४५, निस्दी गाउँपालिकामा २५, माथागढी गाउँपालिकामा २४, रिब्दीकोट गाउँपालिकामा १८, रामपुर नगरपालिकामा १२, तिनाउ गाउँपालिकामा ११, रम्भा गाउँपालिकामा ५ गाईगोरु मरेको विज्ञ केन्द्रका डा.बस्यालको भनाइ
छ । विज्ञ केन्द्रका निमित्त प्रमुख दुर्गाप्रसाद खनालका अनुसार चार हजार २ सय ९३ पशुको उपचार गरिएको छ । संक्रमण देखिएको गाईगोरुको विज्ञ केन्द्रबाट एक हजार २ सय र स्थानीय तहबाट तीन हजार ९३ को उपचार गरिएको हो ।
पहिलो पटक माथागढी गाउँपालिकाको हात्तीलुङ, गोठादीका किसानले पालेको गाईगोरुमा देखिएको संक्रमण पाल्पामा पहिलो पटक देखा परेको रोग हो । माथागढीको गोठादी, हात्तीलुङका गाईगोरुमा गरिएको परीक्षणबाट लम्पी स्किन पुष्टी भएको थियो । विज्ञ केन्द्रले सबै पालिकामा रहेका पशु विकास शाखाका प्राविधिकसँगको समन्वयमा उपचार गर्दै आएको छ । संक्रमणका विरुद्ध खोप लगाउने काम पनि तीव्र गतिमा भएको प्रमुख खनालले बताउनुभयो । जिल्लामा प्राप्त दुई हजार खोप मध्य रोग नियन्त्रणका लागि एक हजार ५ सय १० खोप दिइएको विज्ञ केन्द्रका पशु प्राविधिक युवराज ज्ञवालीले बताउनुभयो । खोप पहिलो चरणमा उन्नत जातका गाईमा लगाइएको छ ।
जिल्लाका दश पालिका मध्ये आठ पालिकामा खोप लगाइएको छ । नयाँ रोगका रुपमा फेला परेको रोग भाइरस मार्फत सर्छ । यसको औषधि र उपचार छैन । संक्रमण फैलिएको क्षेत्रमा अन्य भाइरल रोगहरुमा जस्तै वैकल्पिक औषधि मार्फत उपचार गरिन्छ । यो रोगका लक्षणहरु साधारण र हल्का रुपदेखि निकै कडा खालको पनि देखिन सक्छ । साना पशुहरुमा यो रोग कडा रुपमा लाग्दछ भने वयस्क पशुहरुमा साधारण लक्षणहरु देखिन्छ । रोगी पशुहरुमा ज्वरो १०४–१०५ डिग्री फरेनहाईटसम्म आउने, अरुचि हुने र झोक्राउँने लक्षण देखिन्छ । त्यसको २–३ दिनमा पशुको शरीरभरि नै छालामा गिर्खा र गाँठाहरू देखिन सुरु हुने पशु चिकित्सक बस्यालले बताउनुभयो ।
यसका साथै गाईबस्तुमा गिर्खा र गाँठाहरूमा पिप जम्मा भएर घाउ बन्ने, उत्पादन घट्ने समस्या हुन्छ । यसमा जीवाणुजन्य संक्रमण भई समस्या झन् बढ्दै जाने, बिस्तारै शरीरका भित्री अंगहरु पेट, फोक्सो, श्वासनलीमा पनि यस्ता गिर्खा र गाँठाहरू बढ्न गई निमोनिया
समेत हुने उहाँको भनाइ छ । यो रोग एक विषाणु भाइरस जन्य रोग हो । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् ।