भण्डारीको आम्दानीको स्रोत “कागती खेती”

पाल्पा । तिनाउ ६ मस्यामकी गोमा भण्डारीको आजभोली आम्दानीको राम्रो स्रोत ‘कागती खेती’ बनेको छ । उहाँ पछिल्लो समय यही खेतीमा रमाउन थाल्नुभएको छ । कागती खेतीबाट आम्दानी लिन थालेपछि उहाँको दैनिकी नै फेरिएको छ । गत आर्थिक वर्षमा मात्र भण्डारीले करिब १२ लाख रुपैयाँ बराबरको कागती बेच्न सफल भएको बताउनुभयो ।

पछिल्लो समय बाँदर लगायतका अन्य वन्यजन्तुहरुले अन्न बालीको नष्ट गरी नोक्सानी पु¥याउन लागेपछि कागती खेती तर्फ आकर्षित हुनुभएकी भण्डारीको बारीमा अहिले करिव ४ सय कागतीका बिरुवाले उत्पादन दिन थालेका छन् । २०७२ सालमा ५० वटा सुन कागतीका विरुवाबाट खेती सुरु गर्नुभएकी भण्डारीलाई उहाँका श्रीमान् होमनाथ भण्डारीले सघाउँने गर्नुभएको छ । २३ वर्षसम्म शिक्षक पेशामा रहनुभएका होमनाथको आजभोली श्रीमतीसंगै कागती स्याहार्दै दिन बित्ने गरेको छ । पाखोबारीमा पनि लगाउन सकिने, समय दिइरहन नपर्ने, वर्षको एकपटक सिजनमा काम गरेपछि राम्रै प्रतिफल लिने सकिने भएकोले भण्डारी दम्पती कागती खेतीमा लागि परेको देखिएको छ ।

एउटा राम्रो, स्वस्थ र सप्रेको कागतीको बोटमा करिव पच्चीस सयदेखि तीन हजारसम्म दाना लाग्ने र १० हजार रुपैया सम्म आम्दानी हुने भण्डारी दम्पत्तिको भनाइ रहेको छ । उत्पादन गरेको कागती बेच्न बजारको अभाव नरहेको बताउदै भण्डारीले स्थानीय बजार डुम्रे, तानसेन तथा बुटवलमा प्रतिकेजी एक सय ५० मा विक्री गर्ने गरेको बताउनुभयो । पछिल्लो समय जुस, अचारको लागि पनि कागतीको माग बढ्न लागेपछि कागती खेतीले झन उत्साहित बनाएको भण्डारीले बताउनुभयो ।

भण्डारी दम्पत्तिले आफूहरु संगै स्थानीय नागरिकहरुलाई मौसम अनुसार रोजगारी दिने गर्नुभएको छ । पुषमाघ महिनामा दैनिक ८,१० जनाले कागतीका बोटहरुमा मल हाल्ने, गोडमेल गर्ने, काँटछाँट गर्ने काम पाउने गरेका छन् । चैत्र र वैशाखमा सिंचाई र असोजदेखि मंसिरसम्म कागतीको दाना टिप्नका लागि स्थानीय नागरिकलार्य रोजगार दिने गरेको भण्डारीको बताउनुभयो । गतवर्ष मलजल र ज्यालामा करिव डेढ लाख बढी खर्चिएको भण्डारीले बताउनुभयो ।

हिउँद महिनामा नै १ मिटरको खाल्डो खनेर मल माटो फेटेर राख्ने र पानीको सुबिधा भएको ठाँउमा झरी नपर्दै विरुवा लगाएमा विरुवा सजिलो गरी नै हुर्कने गरेको उहाँको अनुभव छ । खेर गएको जमिनको सदुपयोग हुने र वन्यजन्तुले अन्य खेतीमा जस्तो कागती खेतीमा नोक्सान नगर्ने भएकोले पनि यसबाट आम्दानी राम्रो भएको छ । स्थानीय स्तरमा बसेर रोजगारी सिर्जना गर्नुका साथै आयस्रोतको राम्रो बाटो पहिलाएकोमा खुसी हुँदै भण्डारी दम्पती उत्साहका साथ खेतीमा खट्नु भएको छ ।

कागती खेती फस्टाउँदै गए पनि त्यसमा भने समयसमयमा विभिन्न किसिमका रोगहरुले सताउँदै आएको भण्डारीको गुनासो छ । क्यांकर रोग, ढुसीको समस्या र लिफ माइनर कीराले कागतीलाई हानी गर्छ । त्यस्ता रोग र समस्याहरुबाट कागतीलाई बचाउनका लागि साइपरमेथ्रीन,बेबीसटीन, निलोतुथो र चुनाको मिश्रण र गहुँत लाभदायक हुने भण्डारीले बताउनुभयो ।

मानिसलाइ दैनिक मात्रामा चाहिने भिटामिन सी ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के कागतीबाट पाइन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय