पाल्पा । युनाइटेड मिसन अस्पताल तानसेनले स्वास्थ्य बीमाका सेवा स्थगन गर्दा बिरामीहरु समस्यामा परेका छन् । बीमा उपचार वापत सरकारले दिनुपर्ने वक्यौता भुक्तानी नगरेका कारण अस्पतालले सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै नयाँ आर्थिक वर्षदेखि बीमा कार्यक्रम बन्द गरेको हो । यसले स्वास्थ्य बीमाबाट लाभान्वित हजारौं बिरामीहरु समस्यामा परेका हुन् ।
गत वर्ष लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा सेवा बन्द गरेपछि मिसन अस्पतालमा बिरामीकाे चाप बढेकाे थियाे । पाल्पासँगै गुल्मी, स्याङ्जा र रुपन्देहीबाट दैनिक सात सयदेखि एक हजार स्वास्थ्य बीमा गरेका नागरिक सेवा लिन आउँछन् । तर, भुक्तानी नपाएको भन्दै मिसन अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गरेपछि बिरामी समस्यामा परेका हुन् ।
मिशन अस्पताल तानसेन पाल्पाले २०७४ साल देखि शुरु गरेको स्वास्थ्य विमा उपचार सेवा २०८० साल साउन २१ गते देखी पूर्ण रुपमा बन्द गरेको हो । अस्पतालले बीमा बोर्डबाट भुक्तानी लिन बाँकी रकम नपाएका कारण सेवा राेकेकाे हाे । बीमाको रकम नपाएका कारण अस्पताल नै बन्द हुने अवस्था आएकोले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको युनाइटेड मिसन अस्पताल पाल्पाका व्यवस्थापक जीवन भट्टराइले बताउनुभयो ।
स्वास्थ्य बीमा गर्ने देशभरिकै नमुना जिल्ला पाल्पाका ८५ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन् । पाल्पामा दुई वटा सरकारी अस्पताल र दुई वटा प्राथमिक उपचार केन्द्रमा बीमा कार्यक्रम लागु गरिएको थियो । तर, दरबन्दी अनुसारका चिकित्सक, विषेशज्ञ सेवा, आवश्यक उपकरणको अभावका कारण सरकारी अस्पतालले मिसन अस्पताल रिफर गर्दै आएका थिए । अब मिसन अस्पतालले पनि सेवा बन्द गरेपछि नागरिक समस्यामा परेका छन् । सरकारी अस्पताललाई व्यस्थित, सुरक्षित र भरपर्दो उपचार केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ सेवा सुरु गरेपनि गुणस्तरमा सुधार गर्न नसकेकोमा नागरिकको गुनासो छ ।