
पाल्पा । पाल्पामा आँखा पाक्ने रोगको सङ्क्रमण दैनिक रुपमा बढेको छ । जिल्लामा पछिल्लो दुई सातादेखि दैनिक बिरामी बढेका हुन् ।
पछिल्ला दिनहरुमा संक्रमित बिरामीको संख्या बढेपछि लाकौल आँखा अस्पतालले छुट्टै (रेड आई क्लिनिक) क्लिनिकबाट बिरामीको परीक्षण र उपचार गर्न सुरु गरेको छ । क्लिनिकबाट हालसम्म चारसय भन्दा बढि विरामीको उपचार गरिएको अस्पतालका सूचना अधिकारी जीवनाथ गैरेले बताउनुभयो । संक्रमित हुनेमा सबै उमेर समूहका मानिसहरु रहेका छन् । सदरमुकाम तानसेनसंगै, रामपुर, रैनादेवी छहरा, प्रभासलगायत जिल्लाभरी नै आँखा पाक्ने रोगका संक्रमित बढेका हुन् ।
यसैबीच आँखा पाक्ने रोगको संक्रमण दैनिक रुपमा बढेसंगै उपचारका लागि औषधिको समेत अभाव सृजना हुन लागेको लायन्स लाकौल आँखा अस्पतालले जनाएको छ ।पाल्पामा पाल्पा अस्पताल र रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्रमा पनि दैनिक रुपमा यस्ता रोगका बिरामीहरु बढेको अस्पतालहरुले जनाएका छन् ।
यो रोगको संक्रमणबाट आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा आउने, परेला सुन्निने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने जस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ।
यस्तो रोगको संक्रमण आँखाबाट निस्किने आँसु तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले आँखामा पुग्दा हुने भएकोले सङ्क्रमित व्यक्तिको संम्पर्कमा नरहने तथा नियमित सरसफाई र साबुनपानीले हात धुन जस्ता उपाए अपनाउन पनि चिकित्सकले सुझाव दिएका छन् ।