पूर्वखोला ४ नं. वडाको समीक्षा तथा कार्यक्रम सार्वजनिक

पाल्पा । पूर्वखोला गाउँपालिका ४ नं. वडा कार्यालय देविनगरले गत वर्षको समीक्षा तथा चालु आर्थिक वर्षको योजना र कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रममा वडाध्यक्ष मेहर सिं थापाले गत आर्थिक वर्षमा संघ, प्रदेश र गाउँपालिकाबाट गरी जम्मा ४७ वटा योजना रहेकोमा ४६ वटा योजना समयमै सम्पन्न भएको जानकारी गराउनुभयो । उहाँले विद्यालयको ट्रस निर्माण योजना मात्र काम हुन नसकेको बताउनुभयो । अन्य सवै योजनाहरु अधिकांश उपभोक्ता समिति र केही टेन्डर मार्फत गाउँपालिकाको जिम्मेवारमा समयमै सम्पन्न गर्न सफल भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

वडाध्यक्ष थापाले यस आर्थिक वर्ष २०८०÷८१ का लागि वडाको ६० लाख, गाउँपालिकाको ३१ लाख संघीय सरकार र प्रदेश सरकारबाट एक करोड २३ लाख गरी जम्मा २ करोड १२ लाख बराबरको काम वडामा सञ्चालन हुनेगरी बजेटको सुनिश्चितता गरिएको बताउनुभयो । यसका साथै विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा अन्य कामहरु पनि गरिने उहाँको भनाइ छ । हुमिन देविनगर वडा भएर गाउँपालिका जोडिने सडक, हुमिन देविनगर जल्पा बहादुरपुर सडकको पनि काम हुने वडाध्यक्ष थापाले बताउनुभयो । उहाँले गत वर्षमा जस्तै यस वर्ष सञ्चालन हुने योजनाहरु सफल बनाउन सबै वडाबासीले रचनात्मक सुझाव सहित सकरात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

समीक्षा कार्यक्रममा वडाका सचिव तेजिसरा थापाले गत वर्ष एक सय ६५ वटा घटना दर्ता गरिएको, विभिन्न शिर्षकमा ८ सय ४२ वटा सिफारिस गरिएको बताउनुभयो । उहाँले गत वर्ष व्यवसाय कर, घर बहाल कर ,बालुवा ढुङ्गा दुवानी कर, भुमी कर लगायतबाट सात लाख ४० हजार ३ सय ६९ राजस्व संकलन भएको जानकारी दिनुभयो । वडासचिव थापाले वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई सुविधाको लागि सहायता कक्ष र गुनासो पेटिकाको समेत व्यवस्थापन गरिएको बताउनुभयो ।

स्वास्थ्य चौकिका प्रमुख शान्ता वम्रेलले गत आर्थिक वर्षमा स्वास्थ्य चौकीबाट मात्रै चार हजार ५ सय ८१ जनालाई सेवा उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले अहिले स्वास्थ्य चौकीबाट ओपिडी सेवा , प्रयोगशाला सेवा , प्रसुति सेवा , औषधिबाट गर्भपतन सेवाहरु दिइएको बताउनुभयो । कार्यक्रममा पशु शाखाका कृष्ण रायमाझीले बाख्रा , बंगुर , कुखुरा ,भैंसी गाई गोरुलाई आवश्यकता अनुसार खोप लगाइएको, जुका माटेको औषधिहरु वितरण गरेको बताउनुभयो ।

कृषि शाखाका अमृता भट्टराईले मकैको बीउ, आलुको बीउ, तरकारीको बीउविजना, हाटे ट्याक्टर , थेसर , चापकटर , लगायतका कृषि औजारहरु र सुन्तला कागतीको विरुवाहरु वितरण गरेको जानकारी गराउनुभयो । कार्यक्रममा सहभागीहरुले स्वास्थ्य चौकीमा गोपनियता नभएको, योजना बारे राम्रोसँग जानकारी नपाएको , कृषि र पशु सेवा शाखाबाट उपलब्ध गराउने सेवामा एकरुपता नभएको, बजेट सम्मान रुपमा विनियोजन नभएको गुनासो राखेका थिए ।

कार्यक्रमका गाउपलिकाका उपाध्यक्ष भागिरथि भट्टराईले जनताको आवश्यकता अनुसार गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले सबै पक्षको सल्लाह सुझाव अनुसार गाउँपालिकाले विकासका योजना अगाडि सार्ने समेत बताउनुभयो । उपाध्यक्ष भट्टराईले गाउँपालिकाको विकास निर्माणका काममा उपभोक्ता समिति र स्थानीय जनताले गरेको योगदानको उच्च प्रशंसा समेत गर्नुभयो ।

सम्बन्धित खवर