पाल्पा । पाल्पा क्षेत्र नं. २ का संघीय सांसद ठाकुर प्रसाद गैरेले राज्यको कानुन सबैले अक्षरस पालन गर्नुपर्ने बताउनुभएको छ । कानुनी राज्यमा कानून नीति नियम भन्दा माथी सरकार, संघ संस्था र व्यक्ति कोही नभएकोले राज्यले बनाएको नीति नियम कानुन सबै पक्षले पालना गर्नु पर्ने उहाँले बताउनुभयो ।
नेपाल आौषधि व्यवसायी संघ पाल्पा शाखाको सातांै साधारण सभामा सांसद गैरेले पाल्पाका दुई ठूला अस्पतालका स्वास्थ्य बीमा कार्यक्रमप्रति लक्षित गर्दै राज्यसंग सेवा दिन्छु भनेर सम्झौता गर्ने तर साना साना समस्याहरु देखाएर सेवा बीचमै छोड्छु भनेर सेवा स्थगन गर्नु गैरजिम्मेवारी काम भएको बताउनुभयो ।
स्वास्थ्य बीमाले मिशन अस्पतालको बक्यौता रकम ढिलोमा असोज मसान्त सम्म भुक्तानी गर्ने, अस्पतालले राखेको औषधि तथा परिक्षणको दररेट भदौ सम्म पुनरावलोकन गर्ने बोर्डबाट सहमती र पत्राचार समेत भएको अवस्थामा सेवा बन्द गर्नु गलत भएको सांसद गैरेको भनाइ थियो । जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार सबैले मिशन अस्पताललाई स्वास्थ्य बीमा नियमित रुपमा संचालन गर्ने आश र अपेक्षा रहेपनि त्यस्तो हुन नसकेको सांसद गैरेले बताउनुभयो । पाल्पाका सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन, विशेषज्ञ सेवा प्रदान गर्न, पाल्पा अस्पताललाई चाहिने जग्गाको व्यवस्थामा जनप्रतिनिधि, जिल्लाका राजनीतिक दलहरु सक्रिय भएर काम अगाडि बढाएको सांसद गैरेले जानकारी समेत गराउनुभयो ।
साधारणसभामा वरिष्ठ मुटु रोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले अहिले नेपालमा जथाभावी रुपमा एन्टिवाइटिकको प्रयोगले अधिकांश मानिसको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताउनुभयो । औषधी व्यवसायलाई व्यापार भन्दा सेवाभावसंग जोडेर काम गर्नुपर्ने, जिल्लाका समितिबाटै अनुगमन समिति बनाउनु पर्ने, चिकित्सको लेखाई विना औषधि पसलले तरकारी बेचेजस्तो औषधिहरु बेच्न बन्द गर्नुपर्नेमा डा.कोइरालाको जोड थियो । देशभरीका सरकारीे स्वास्थ्य संस्थाको क्षमता विस्तार तथा गुणस्तरीय सेवा प्रवाहको लागि नीतिगत रुपमा सम्वोधनको प्रयासमा आफू लागिरहेको डा.कोइरालाले जानकारी गराउनुभयो ।
कार्यक्रममा औषधि व्यवसायी संघ पाल्पाले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई संगम सम्मान र पुरस्कारबाट सम्मानित गरेको छ । डा.कोइरालालाई नगद दश हजार सहित पाल्पाली ढाका टोपी र सम्मानपत्रबाट सम्मान गरिएको हो । संघका पूर्व अध्यक्ष रुक्मांगत शर्माले स्थापना गरेको एक लाख ५० हजार रुपैयाँको अक्षयकोषबाट प्राप्त व्याजबाट डा.कोइरालालाई सम्मान गरिएको हो । यहि अवसरमा अक्षयकोषदाता शर्मालाई पनि सम्मानित गरेको छ ।
कार्यक्रममा पाल्पा क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्यले सम्मानित डा.कोइरालालाई बधाई ज्ञापन गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको विकास र व्यवस्थापनमा सबै जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा सदस्य वीर बहादुर राना र खेमबहादुर सारुले सबैपक्ष राज्यको कानुन अनुसार चल्नुपर्नेमा जोड दिनुभयो । सबैपक्ष इमान्दार भएर, आफ्नो दायित्व जिम्मेवारी भित्र रहेर काम गर्दा समस्या नआउने समेत बताउनुभयो ।
कार्यक्रममा पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, नेपाल औषधि व्यवसायी संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मालगायतले पाल्पामा औषधि व्यवसायीहरुले खेलेको भूमिका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो । संघका अध्यक्ष विष्णु केसीको अध्यक्षता, उपाध्यक्ष समिरमान सिंहको स्वागत, निवर्तमान अध्यक्ष रामलाल श्रेष्ठको धन्यवाद ज्ञापन र महासचिव सूर्य बस्यालको संचालनमा सभा चलेको हो ।