सरकारको अनुरोध विपरीत स्वास्थ्य बीमाका सेवा स्थगित

पाल्पा । युनाइटेड मिशन अस्पताल तानसेनले सरकारको अनुरोध विपरीत स्वास्थ्य बीमा कार्यक्रम अन्तरगतका सेवा स्थगित गरेको छ । अस्पतालले बीमा कार्यक्रम मार्फत उपचार सेवा उपलब्ध गराएको बक्यौता रकम प्राप्तीमा ढिलाई भएकोले सेवा साउन २१ गतेदेखि सेवा स्थगन गर्ने सूचना सार्वजनिक गरेको थियो । अधिकांश निर्णय आफूखुसी गर्ने अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमको बक्यौता नउठेको र सेवा दिन नसक्ने भन्दै जिल्लाका राजनीतिक दल, सरोकारवाला र पत्रकारहरुसंग औपचारीकताका लागि छलफल गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डले अस्पताललाई तिर्नुपर्ने रकम समयमा नदिएका कारण पाल्पाली नागरिक सेवाबाट बञ्चित हुने अवस्था प्रति गम्भीर बन्दै जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरु समन्वय र छलफलमा लाग्दा पनि समस्याको समाधान हुन सकेको छैन । जिल्ला र स्वास्थ्य बीमा बोर्डमा भएको जिल्लाका संघीय सांसदहरुको छलफलको निष्कर्ष अनुसार भएको निर्देशनलाई समेत अस्पतालले नटेरेर सेवा स्थगित गरेको छ । सेवा सुचारुका विषयमा छलफल भने बोर्डसंग चलिरहेको अस्पतालले जनाएको छ ।

साउन १८ गते अस्पतालको निर्देशक रचेल कारक, संघीय सांसद ठाकुरप्रसाद गैरे र नारायणप्रसाद आचार्यसहित स्वास्थ्य बीमा बोर्डको टोलीसंग भएको छलफलमा समस्या क्रमिक रुपमा समाधान गर्ने सहमती अनुसार अस्पताललाई सेवा सुचारु गर्न बोर्डले परिपत्र गरेको थियो । तर अस्पतालले सेवा सुचारु नगरी परिपत्रको प्रतिउत्तरका रुपमा उठान भएको विषय सम्बोधन नभएकोले सेवा स्थगितको निर्णय यथावत रहेको सूचना निमित्त अस्पतालका निर्देशक जीवन भट्टराईको हस्ताक्षर गरेर जारी गरेको छ । मिशन अस्पतालसंग स्वास्थ्य बीमा बोर्डको सेवा प्रवाहका विषयमा भएको सम्झौता २०८० असोज महिनामा सकिदै छ ।

सम्झौता गर्ने समयमा स्वीकार भएको दररेट अहिले सेवा प्रवाह महंगो भएको भन्दै फरक दररेटमा भूक्तानी दावी गरेकोले समस्या उत्पन्न भएको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय पाल्पाका प्रमुख अर्जुन पौडेलले बताउनुभयो । उहाँले सम्झौता र भुक्तानी दावीको दररेट फरक परेकोले भुक्तानीमा अन्यौलता आएको बताउनुभयो । तर, मिशन अस्पतालले जुन रुपमा प्रचारवाजी गरेको छ त्यस्तो समस्या नभएको प्रमुख पौडेलको दावी छ ।

सेवा स्थगित गर्ने छलफल र सूचनासंगै जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुले सक्रियता बढाएका छन् । सोही अनुसार बैठक, बहस भएका छन् । जिल्लादेखि केन्द्रसम्म र सामाजिक सञ्जाल फेसबुकमा समेत राम्रै बहस भएको छ । अधिंकाश बहसहरु मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुचारु गराउनेतर्फ अलि बढी केन्द्रित देखिएको छ । तर यो सक्रियता सरकारलाई धम्काउने संस्थाको पक्षमा भन्दा सरकारी स्वास्थ्य संस्थाको विकासमा लगाउनुपर्ने नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाललको विचार छ ।

उहाँले पाल्पा अस्पताल, रामपुर अस्पतालका साथै स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुलाई भौतिक पूर्वाधार, दक्ष जनशक्ति र प्रविधिमैत्री बनाउनेतर्फ पहल कदमी सहित गुणस्तरीय सेवा उपलब्ध गराउनेमा ध्यान दिनुपर्ने बताउनुभयो । जसले गर्दा सरकारी स्वास्थ्य संस्था सक्षम गराउन सक्दा सबै समस्या हल हुने उहाँको विश्वास छ ।

सम्बन्धित खवर