जल उपभोक्ता समूह फोक्सिङ्गकोटकाे साधारण सभा

पाल्पा । रानीबास आधुनिक प्रविधिमा आधारित जल उपभोक्ता समूह रम्भा २ फोक्सिङ्गकोटको १७ औं साधारण सभा सम्पन्न भएको छ । उपभोक्ता समूहका अध्यक्ष मनबहादुर गाहाको अध्यक्षतामा चलेको सभामा समूहका सचिव बिमला पाडेमगरले वार्षिक कार्यप्रगति विवरणका साथै यस वर्ष संचालन गरिने कार्ययोजना प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा कोषाध्यक्ष गणेशबहादुर गाहाले वार्षिक आय व्यय प्रस्तुत गर्दै दुई लाख ४७ हजार रुपैयाँ बचत रहेको विवरण सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका सदस्य भोवीसरा सारुले फोक्सिङ्गकोटको रानीबास र कोटथर गाउँका वासिन्दाहरु लिफ्फ्टिङ्ग खानेपानी प्रयोग गरी लामो समयदेखि पानी उपभोग गरिरहेकोमा यसको दिगोपनको लागि योजना बनाएर जानुपर्ने बताउनुभयो । उहाँले सरकारी अनुदान प्राप्तिको लागि समेत सबैले पहल गर्नुमा जोड दिनुभयो । कार्यक्रममा रम्भा गाउँपालिका २ का वडा सदस्य योगेन्द्र पाडे, समूहका पूर्व अध्यक्ष एवत सारु, समाजसेवी भिमबहादुर सारु, जितबहादुर गाहा, गंगाबहादुर गाहा, देबेन्द्र सारु लगायतले समूहको थप प्रगतिको कामना व्यक्त गर्नुभयो ।

साधारण सभामा रानीबास र कोटथर गाउँका उपभोक्ताको उपस्थित रहेको थियो । समूह सदस्य वीरबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम चलेको हो । रानीबास आधुनिक प्रविधिमा आधारित जल उपभोक्ता समूहले वि.सं. २०६३ साल देखि लिफ्फ्टिङ्ग प्रणालीबाट पानी फालेर पानीको व्यवस्थापन गर्दै आएको छ । कयनखोलाको पानीलाई ५ चरणमा माथि फालेर गाउँमा पानी पु¥याइएको छ ।

कयनखोलाको पानीबाट रानीबास गाउँका एक सय ६ र कोटथर गाउँका ६६ घरधुरी गरी एक सय ७२ घरधुरीका साथै सानाहुँगी माध्यमिक विद्यालय र फोक्सिङ्गकोट वडा कार्यालयले पानी उपभोग गर्दै आएका छन् ।
रम्भा गाउँपालिकाले लिफ्फ्टिङ्ग खानेपानीको लागि विद्युत महशुलमा सहुलियत दिने वार्षिक नीति तथा कार्यक्रम तय गरेपनि लागु नगरेकोमा धेरैजना उपभोक्ताले गुनासो राखेका थिए । लिफ्फ्टिङ्ग गरेको पानीबाट स्थानीय कृषकहरुले प्लाष्टिक टनेल प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी खेती समेत गर्दै आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय