पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर–६, अर्चलेमा वार्षिक समीक्षा तथा वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । गाउँपालिका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष सुनारीले गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बारे जानकारी गराउनुभएको थियो । यसका साथै उहाँले गत वर्ष निर्धारीत समयमै योजना तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा वडा सचिव मीन बहादुर रानाले गत वर्ष अर्चलेमा सञ्चालित योजना तथा कार्यक्रमको कार्य प्रगति बारे जानकारी गराउनु भएको थियो । गत आर्थिक वर्ष अर्चलेमा साना–ठूला गरी ५३ वटा योजना तथा कार्यक्रम सञ्चालन भएका थिए । जसका लागि तीन करोड ६ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन भएर काम भएको हो । यसैगरी यस वर्ष निस्दी गाउँपालिका, प्रदेश र संघबाट विभिन्न ३० वटा योजना तथा कार्यक्रमका लागि एक करोड ९० लाख रुपैया स्वीकृत भएको वडाध्यक्ष सुनारीले बताउनुभयो । यसका साथै वडामा गत वर्ष सञ्चालन भएका योजना तथा कार्यक्रमको आम्दानी र खर्च समेत सम्बन्धित उपभोक्ता समितिका प्रतिनिधिहरुले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम अर्चलेका विद्यालयहरुको शैक्षिक उपलब्धि सन्तोषजनक नभएको, स्वास्थ्य चौकीले दिने सेवा सुविधा बारे सहभागीहरुले जिज्ञासा राखेका थिए । त्यसैगरी मोटर निर्माणकार्यमा गाउँपालिकाले टेण्डर मार्फत गरे पनि उपभोक्ता समिति मार्फत गरेको भन्दा गुणस्तर र परिमाणमा समेत शंका गर्ने ठाउँ रहेको सहभागीले बताएका थिए ।
कार्यक्रममा निस्दी गाउँपालिकाका कार्यपालिका सदस्य मिम्श्री बयम्बु, वडा सदस्यहरु कृष्ण बहादुर सोमै, प्रकाश राना, गोरखनाथ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लाल बहादुर बयम्बु, नेकपा एमालेका कृष्ण बहादुर सुनारी लगायतकाले बोल्नु भएको थियो ।