
पाल्पा । बगनासकाली गाउँपालिकाव वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले आफूलाई गाउँपालिकाले अवैध रुपमा नदीजन्य प्रदार्थ चोरी निकासी गरेको पुष्टि गरेर जरिवाना गर्ने निर्णय प्रति असन्तुष्टि व्यक्त गनुृभएको छ । यसका साथै वडाध्यक्ष अधिकारीले नदीजन्य पदार्थको चोरी निकासीमा गाउँपालिकाले दोषि ठहर गरेर २ लाख १० हजार जरिवाना गर्ने निर्णय बारे विभिन्न मिडियामा प्रकाशित समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
गएको असार ३० गते वडाध्यक्ष अधिकारी स्वयम उपस्थित भएको बैठकमा एकल एजेण्डाका रुपमा छलफलपछि भएकोको निर्णयप्रति करिव २० दिनपछि वडाध्यक्षलाई गम्भीर र कपोकल्पित आरोप लगाइएको भन्दै विज्ञप्ति मार्फत असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले गाउँपालिकाले अनुगमनका क्रममा वडा कार्यालयलाई जानकारी समेत नदिई नियमानुसार ठेक्का लागेको घाटबाट कानुन अनुरुप राजस्व दाखिला गरी स्थानीय व्यक्तिहरुले संकलन गरिएको नदीजन्य पदार्थलाई केही व्यक्तिहरुको लहलहैमा र राजनीतिक रुपमा पूर्वाग्रह राखि जननिर्वाचित वडाध्यक्षलाई जोडेर गरिएको जरिवानाको निर्णय प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको बताउनुभएको छ । वडाध्यक्ष अधिकारीले जरिवानाको कारण र प्रमाण बारे बुझ्न र निर्णय पुनरावलोकनका लागि गाउँपालिकामा निवेदन समेत दर्ता गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । साथै गाउँपालिकाले गरेको जरिवानाको निर्णय उपर थप छलफल तथा अनुसन्धान गरी निर्णय बदर गर्न वडाध्यक्ष अधिकारीले माग गर्नुभएको बताउनुभएको छ ।
गाउँपालिकाले वडाध्यक्ष अधिकारीलाई अवैध रुपमा बन्द रहेको घाटबाट ढुंगा, गिट्टी , बालुवा चोरी निकासी गरेर जम्मा गरेको ठहर गर्दै ४२ टेक्टर नदीजन्य पदार्थको प्रतिटेक्टर ५ हजारका दरले हुन आउने रकम दुई लाख दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको गत असार ३० गते बसेको कार्यपालिका बैठकले आर्थिक ऐन २०७९ को दफा नं. २५ अनुसार जरिवाना गर्ने निर्णय गरेको थियो । सोहि अनुसार गाउँपालिकाले साउन ५ गते वडाध्यक्ष अधिकारीलाई जरिवाना बुझाउन पत्रचार गरेको थियो ।
नदीजन्य प्रदार्थ निकासीमा रोक लगाइएको बगनासकाली गाउँपालिका ६ यम्घाको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य प्रदार्थ चोरी निकासी गरी सोही वडाको दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा जम्मा गरी राखेको र दर्पुककै नाली र सडक स्तरोन्नति योजनामा अवैध नदीजन्य पर्दाथ प्रयोग गरेको वडाध्यक्ष अधिकारीलाई स्थानीयले आरोप लगाएका थिए । मनोमानी रुपमा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको भन्दै स्थानीय नागरिकहरुले गरेको गुनासोका आधारमा गत वैशाख १८ गते गाउँपालिकाले अध्यक्ष सरस्वती चिदीको नेतृत्वमा स्थलगत अनुगमन गरेर जिल्ला समन्वय समिति पाल्पामा प्रतिवेदन बुझाइएको थियो । प्रतिवेदनका आधारमा समन्वय समितिले वैशाख २० गते गाउँपालिकालाई अवैध कार्य तत्काल रोक्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्यायर कारबाही गर्न पत्रद्धारा निर्देशन गरेको थयो ।