
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको सचिवालय बैठक सकिएको छ । गत असार ३० गते बसेको वार्षिक समीक्षा तथा योजना तर्जुमा बैठकमा सचिव नारायण न्यौपानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को योजना तथा कार्यक्रमलाई अन्तिम टुंगो लगाउन सचिवालय बैठक बसेको हो ।
बैठकले चालु आर्थिक वर्षमा दश मुख्य शिर्षकका कार्यक्रम भित्र ३४ वटा उपशिर्षकमा कार्यक्रम गर्ने गरी कार्ययोजना निर्माण कार्य सर्वसम्मत रुपमा सकेको छ । जसमा मुख्य रुपमा प्रविधिमा आत्मनिर्भर पाल्पा चौतारी, संगठन विस्तार, क्षमता विकास, संस्थागत कोष वृद्धि, संस्थागत विकासका क्षेत्रमा कार्यक्रम तय गरिएको संगठनका सचिव नारायण न्यौपानेले जानकारी दिनभयो । यस्तै गरी दुःखमा चौतारी हो साथी कार्यक्रम, समन्वय र सहकार्यका कार्यक्रम, सदस्यता प्रोत्साहन कार्यक्रम, भेला, छलफल र अन्तरक्रिया र आर्थिक रुपमा सक्षम चौतारीका सदस्यता लगायतका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न क्रियाकलाप तयार गरी कार्यान्वयमा लाग्ने निर्णय भएको सचिव न्यौपानेको भनाइ छ ।
कार्ययोजना कार्यान्वयनका लागि प्रत्येक शिर्षकका कार्यक्रममा तीन जना सदस्यहरुको समूहलाई तयार गरी जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रमको प्रभावकारीतालाई ध्यानमा राखेर अन्य क्रियाकलापहरु तय गरेर काम हुने छ । सबैमा सामूहिक भावनाको विकास र संस्थागत गतिविधिमा समान क्रियाशीलता कायम गर्न कार्यविभाजन गरिएको संठगनका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । उहाँले सबै सदस्यहरुको सक्रियताले नै प्रेस चौतारी पाल्पा यहाँसम्म आइपुगेको स्मरण गर्दै सबै सदस्यहरुलाई नेतृत्वको क्षमता विकास गराउन यो अभियान सुरु गरिएको समेत बताउनुभयो ।
बैठकमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सहइन्चार्ज कमलराज तिमिल्सिनाले संगठनलाई चलायमान बनाउन वार्षिक कार्ययोजनाले ठूलो मद्दत गर्ने बताउनुभयो । उहाँले हरेक कार्यक्रम योजनावद्ध रुपमा गर्दा प्रभावकारी हुने विगतदेखि नै चौतारीले गर्दै आएको कार्यक्रमहरुले प्रमाणित गरेको बताउनुभयो ।
प्रेस चौतारीका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज मिलन विश्वकर्माले कार्ययोजनाको पूर्ण कार्यान्वयनको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आफूले संगठनका गतिविधिलाई गर्नुपर्ने सहयोग निरन्तर गर्ने बताउँदै योजना निर्माणमा जस्तै कार्यान्वयमा पनि सबै सदस्यहरुको क्रियाशीलता आवश्यक रहने कुरामा जोड दिनुभयो ।
बैठकमा प्रेस चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपालले योजनाकै आधारमा काम गरेर प्रेस चौतारी पाल्पा जिल्लामा स्थापित भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा सञ्चालन हुने सबै कार्यक्रममा आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठक संगठनका उपाध्यक्ष सन्तोष बस्यालको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा बसेको हो ।