पाल्पा । बगनासकाली गाउँपालिकाले ६ नं. वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीलाई दुई लाख १० हजार जरिवाना गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । वडाध्यक्ष अधिकारीले गाउँपालिकाको ६ नं. वडा यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको पुष्टि भएपछि जरिवाना गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।
वडाध्यक्ष अधिकारीलाई अवैध रुपमा बन्द रहेको घाटबाट ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ टेक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा डम्पी· गरी राखेको पाइएकोले प्रतिटेक्टर ५ हजारका दरले हुन आउने रकम दुई लाख दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको हो ।
गाउँपालिकाको गत असार ३० गते बसेको कार्यपालिका बैठकले आर्थिक ऐन २०७९ को दफा नं. २५ अनुसार जरिवाना गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष चिदीको भनाइ छ ।
यस्तै गरी गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारको बजेट मार्फत सहरी विकास तथा भवन कार्यालय मातहतबाट ठेक्का भएको दर्पुक बस्ती क्षेत्रको नाली तथा सडक स्तरोन्नतिको योजनामा समेत पारिलेक कन्स्ट्रक्सनका सञ्चालक दामोदर गैरेलाई समेत ७५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । योजनामा अवैध नदीजन्य पदार्थको प्रयोग गरेकोले प्रति टेक्टर ५ हजारका दरले १५ टेक्टर बराबर हुन आउने रकम जरिवाना गर्ने निर्णय गरिएको अध्यक्ष चिदीले जानकारी दिनुभयो ।
बगनासकाली गाउँपालिका ६ यम्घाको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरी सोही वडाको दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा जम्मा गरी राखेको र दर्पुककै नाली र सडक स्तरोन्नति योजनामा अवैध नदीजन्य पर्दाथ प्रयोग गरेको वडाध्यक्ष अधिकारीलाई स्थानीयले आरोप लगाएका थिए । मनोमानी रुपमा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको भन्दै स्थानीय नागरिकहरुले गरेको गुनासोका आधारमा गत वैशाख १८ गते गाउँपालिकाले अध्यक्ष सरस्वती चिदीको नेतृत्वमा स्थलगत अनुगमन गरेर जिल्ला समन्वय समिति पाल्पामा प्रतिवेदन बुझाइएको थियो । प्रतिवेदनका आधारमा समन्वय समितिले वैशाख २० गते गाउँपालिकालाई अवैध कार्य तत्काल रोक्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्यायर कारबाही गर्न पत्रद्वारा निर्देशन गरेको थयो ।
सोही अनुसार अनुगमनका क्रममा प्राविधिकले संकलन गरेको स्थलगत प्रतिवेदन र स्थानीय स्तरमा भेटिएका प्रमाणका आधारमा वडाध्यक्षलाई जरिवाना गर्ने निर्णय गरिएकोे गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले बताउनुभयो । मचेटाघाट क्षेत्रमा नदी कटानले बस्तीमा पारेको असर, दुई जिल्ला जोड्ने पक्की पुन निर्माणको क्षेत्रका साथै बगनासकाली बृहत लिफ्टिंग खानेपानी आयोजनाको मुहान तथा विभिन्न संरचना निर्माण क्षेत्र भएकोले सम्भाव्य असरलाई मध्यनजर गरी यसको ५ सय मिटर वरिपरी उत्खनन् गर्न नमिल्ने भएकोले नदीजन्य पदार्थ निकासी गर्न गाउँपालिकाले
रोक लगाएको छ ।
रोक लगाएको क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासीमा वडाध्यक्ष दोषि ठहरिनु गम्भीर कुरा रहेको गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मूल्यांकन समेत नभएको स्थानबाट नियमन गर्नुपर्ने व्यक्तिले नै अवैध रुपमा गिट्टी, बालुवा र ढुंगा
निकासी गर्नु दुःखद भएको समेत बताउनुभयो ।
कार्यपालिका बैठकले जरिवाना गर्ने निर्णय अनुसार जरिवाना बुझाउन गाउँपालिकाले साउन ५ गते वडाध्यक्ष अधिकारी र निर्माण व्यवसायीलाई पत्राचार गरेको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जानकारी दिनुभयो ।